प्रदेश स्तरीय वर्षिक समीक्षा बैठक सम्पन्न

  ०८१ असार २२ गते

Photo 20240706 Dhanusha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ असार १९ गते प्रदेश स्तरीय वार्षिक समीक्षा बैठक लालगढमा सम्पन्न गरिएको छ ।

मधेस प्रदेशमा २०८० असार १६ देखि २०८१ असार १६ गतेसम्म अर्थात वर्षभरिमा भएका कार्यक्रमहरूको उपलब्धि, चुनौती र अवसरहरूका बारेमा छलफल गर्न उक्त बैठकको अयोजना गरिएको हो ।

बैठकमा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालित सप्तरी र धनुषाका जिल्ला सहजकर्ता र मधेस प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बैठकको उद्देश्यमाथि प्रकाशन पार्नु हुँदै शिक्षा, स्वास्थ्य, वातावरण र विभेदविरुद्धको अधिकारलाई प्रत्याभूत गराउन स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय, सहकार्य र खबरदारी गर्दै सरोकारवाला निकायलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनु भयो ।

मधेस प्रदेशमा दलित तथा विपन्न समुदायको मानव अधिकारका समस्याहरू न्युन रहेकोले उनीहरूको हक अधिकारका लागि कार्य गर्नु पर्ने उहाँले बताउनु भयो ।

बैठकमा सप्तरी जिल्ला सहजकर्ता अजय परियारले एक वर्षको अवधिमा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण, हिंसा र विभेदसँग सम्बन्धित ३२ ओटा समस्याको पहिचान गरी स्थानीय सरकारलाई सो समस्या समाधानका लागि ध्यानाकर्षण गराउने कार्य गरिएको बताउनु भयो । उहाँका अनुसार उक्त समस्या मध्ये १४ ओटा सम्बोधन भएको बताउनु भयो ।

धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले एक वर्षको अवधिमा बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण, हिंसा र विभेदसँग सम्बन्धित ३१ ओटा समस्या पहिचान गरी स्थानीय सरकारलाई सो समस्या समाधानका लागि ध्यानाकर्षण गराउने कार्य गरिएको बताउनु भयो । उहाँका अनुसार उक्त समस्या मध्ये १७ ओटा सम्बोधन भएको बताउनु भयो ।

सप्तरी र धनुषाका जिल्ला सहजकर्ता द्वय परियारका अनुसार मानव अधिकार समूह र बालअधिकार सचेतना समूहले बालविवाह, महिला हिंसा, दाइजो प्रथा र जातीय छुवाछुत विरुद्ध सडक नाटकहरु मार्फत सचेतना फैलाउने कार्य गरेको र वातावरण दिवसको अवसरमा विद्यालयहरुमा वृक्षा रोपणका कार्यहरु समेत गरिएको जानकारी दिनु भयो ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेल, सिरहा प्रतिनिधि दुर्गा परियार, सर्लाही प्रतिनिधि बुधन साह र बारा प्रतिनिधि भोलानाथ पौडेलले असहाय, पीडितहरूको उद्धार, उपचार, न्यायका लागि बहस, पैरवी तथा जिल्लाको सरकारी र गैरसरकारी संघ-संस्थाबीच समन्वय र सहकार्य गर्दै मावन अधिकार घटनाहरुको अभिलेख गर्नुका साथै नागरिकको अधिकारका लागि पैरवी गर्दै आएको बताउनु भयो ।

Phpto 20240706 Lalgadh

इन्सेक मधेस प्रदेश कार्यालय