प्रदेश स्तरीय बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७९ असार ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रम असार ४ गते सम्पन्न भएको छ ।

इन्सेकद्वारा कर्णाली प्रदेशमा सञ्चालित कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबीच जिल्लाको मानव अधिकारको समग्र अवस्थाका विषयमा ०७९ असार ३ र ४ गते समीक्षा गरिएको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा अनलाइनमार्फत जोडिनु भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रम अन्तिम चरणमा भएको बताउँदै कार्यक्रमको प्रभावकारीता, अवसर र चुनौतीका विषयमा समीक्षा गर्न सबै सहजकर्ता र जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

मानव अधिकार प्रलेख तथा पैरवी विभागका प्रमुख श्रीराम बजगाईले पीडितलाई न्यायको पहुँचमा पु¥याउनका लागि जिल्ला प्रतिनिधिहरूले खेलेको भूमिकालाई अभिलेख गर्नुपर्नेमा जोड दिनु भयो ।

मानव अधिकार शिक्षा प्रमुख मदन पौडेलले स्थानीय नागरिकको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारका सवालमा माग दावी गरेका घटनाहरूमा कति सुनुवाई भए, अपेक्षा अनुरूप नतिजा आयो आएन हाम्रो पैरवीको सफलताका विषयमा छलफल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा व्यवस्थापन प्रमुख सुभेच्छा खडकाले प्रभावकारी र सरल रूपमा अगाडि बढाउनका लागि तीन वर्षमा भएका उपलब्धी, सिकाईहरू कसरी एकत्रित गर्न सकिन्छ सो विषयमा कार्यकमको समीक्षा गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले यस अवधिमा सिकाई भएका र मागदावी गरेका कुरालाई आगामी दिनमा कुन तरिकामा जाने भन्ने विषयमा जिल्ला प्रतिनिधि र सहजकर्ताको सुझाव आवश्यक रहेको बताउनुभयो ।

दुईसम्म संचालित समीक्षा कार्यक्रममा जिल्ला सहजकर्ता तथा जिल्ला प्रतिनिधिले कार्यक्रमको प्रभावकारीता, कार्यक्रमको सिकाई, चुनौती र आगामी दिनमा इन्सेकले उठाउनु पर्ने सवालका विषयमा समूहगत छलफल गर्नु भएको थियो । इन्सेकको पहलमा पीडितले न्याय पाएका र मानव अधिकार समूहले गरेका मागदावीका आधारमा सम्बोधन भएका सफलताका कथाका विषयमा समीक्षा कार्यक्रममा छलफल गरिएको थियो ।

कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान जाजरकोट र कालिकोटमा संचालन भएको मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालनमा रहेका थिए । दुई दिने समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका जुम्ला, कालिकोट, दैलेख, सुर्खेत जाजरकोट र सल्यान जिल्लाका जिल्ला प्रतिनिधि र जिल्ला सहजकर्ताको सहभागीता रहेको थियो ।
photosurkhet20220618. Photosurkhet20220618

दिनेश कुमार श्रेष्ठ