पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान

  ०८१ मङ्सिर १४ गते

कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

टिकापुर नगरपालिका—९ बौनियाकी ३० वर्षीया हिरामोती चौधरी र ३७  वर्षीया लालीदेवी चौधरीले   पीडित महिलालाई टिकापुर नगरपालिका—७ का २५ वर्षीय माता भनिने सुनिल मिस्त्री धामीका घरमा कात्तिक २२ गते लगेर बोक्सी भन्दै घाँटी थिचेर दुव्र्यवहार गर्नुको साथै कपाल काटेर जलाईएकोले न्यायका लागि इलाका प्रहरी कार्यालयमा कात्तिक २६ गते उजुरी दिएको र हाल मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेका पीडितले बताउनु भयो ।

यसैगरी घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१२ मनेहरा मुक्त कमैया शिविरकी ३२ वर्षीया सुनिता चौधरीलाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित महिलालाई आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ  प्रदान गरिएको हो ।

पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । ३३ वर्षीय पति राजकुमार चौधरीले सम्बन्धविच्छेदको मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता गरेपछि आफूलाई कानुनी प्रक्रिया जान समस्या भएकोले सहयोगका लागि इन्सेकमा निवेदन दिएको पीडितले बताउनु भयो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी