पीडितको न्यायमा पहुँच स्थापित गर्न पत्रकार र नागरिक समाजको भूमिका विषय छलफल सम्पन्न

  २०८० असोज १९

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पीडितको न्यायमा पहुँच स्थापित गर्न पत्रकार र नागरिक समाजको भूमिका विषय छलफल कार्यक्रम ०८० असोज १७ गते जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले मानव अधिकार उल्लङ्घनका घटनाहरुमा कमी नआएको बताउँदै पीडितहरुको न्यायमा पुहँच स्थापित गर्नका लागि पत्रकार र नागरिक समाज तथा संघसस्थाहरुले सयुक्त रुपमा पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

photo2023105doti (3)

समाजमा अहिले पनि बिभिन्न प्रकारका कुरीति र कुसस्कारहरु कायमै रहेका र धेरै जसो घटनाहरु सतहीकरण नभकै कारण पीडितहरु न्याय पाउनबाट वञ्चित हुने गरेका कारण पत्रकारहरुले खोजमूलक समाचार संकलन कार्यमा बढि ध्यायन दिन आवश्यक रहेको र नागरिक समाजले पनि सयुक्त रुपमा पीडितको न्यायको पक्षमा काम गर्न आवश्यक रहेको संयोजक जोशीले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेकले विगत लामो समयदेखि पीडितहरुको न्यायमा पहुँच स्थापित गर्न मानव अधिकार सहायता कक्षको स्थापना गरी सहयोग गर्दै आएको जानकारी गराउँदै आर्थिक अभावका कारण न्याय पाउनबाट वञ्चित रहनु भएका पीडितहरुलाई मानव अधिकार सहयता कक्षमार्फत सहयोग गर्न सकिने बताउनु भयो ।

जिल्लामा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको र पहुँच नभएका पीडितहरुले अहिले पनि न्याय पाउन नसकेकाले  उहाँहरुको न्याय प्राप्तिका लागि पत्रकार र नागरिक समाजले सयुक्त रुपमा पहल गर्न आवश्यक रहेको पत्रकार योजेन्द्र जोशीले बताउनु भयो ।

photo2023105doti (1)

जिल्ला प्रहरी कार्यालयमा आउने अधिकांश घटनाहरु पहुँचको आधारमा दर्ता हुने र पहुँच नभएका पीडितहरुका मुद्दा नै दर्ता नगरी मिलापत्रमा टुंगिने गरेको पत्रकार जोशीले बताउनु भयो ।

मुक्त हलिया महासंघ, डोटीका अध्यक्ष भोजराज नेपालीले मुक्त हलियाहरुको पुनस्र्थापना हुन नसकेको र जातीय विभेदका घटनाहरु जिल्ला प्रहरी कार्यालयले दर्ता नगरी मिलापत्र गर्न दबाव दिने गरेको बताउनु भयो ।

आरडिएन, नेपालका केन्द्रीय सदस्य गिता नेपालीले जिल्लामा बालविवाह, घरेलु हिंसा, दलित समुदायमाथिको विभेदका घटनाहरुमा कमी आउन नसकेको बताउनु भयो । चेतनाको अभावका कारण अभिभावकहरु नै सानै उमेरमा छोराछोरीहरुको विवाह गरिदिने गरेको पाइएकोले यसका लागि पत्रकार र नागरिक संघसस्थाहरुले सयुक्त रुपमा अभियान सञ्चालन गर्न आवश्यक भएको उहाँले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आयोजना गरेको छलफल कार्याक्रममा जिल्लास्थित पत्रकार तथा बिभिन्न संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रेमबहादुर भण्डारी