पहिलो किस्ताको रकम नपाएको भूकम्पप्रभावितहरुले गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गजुरी गाउँपालिकाको आयोजनामा फागुन २९ गते राईगाउँमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पप्रभावितहरूले पहिलो किस्ताको रकम नपाएको गुनासो गरेका छन् ।

कार्यक्रममा गजुरी गाउँपालिका-५, राइगाउँका विजय राईले लाभग्राही सूचीमा परेर पनि हालसम्म पहिलो किस्ताको रकम पाउन नसकेको गुनासो पोखेका छन् ।

त्यस्तै गाउँमा बनाएको घर मध्ये नमूना घर भनेर पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूले सिफारिस गरेपनि गाउँमा भूकम्प प्रभावितहरूले दोश्रो किस्ताको रकम लिएपनि आफूले पहिलो किस्तासमेत पाउन नसकेको राईगाउँका ज्ञानबहादुर राईले गुनासो गरे ।

गजुरी गाउँपालिका-५ स्थित राईगाउँका १ सय ३० घरमध्ये १६ घरका भूकम्प प्रभावितले मात्र दोश्रो किस्ताको रकम पाएका छन् । घर निर्माण सम्पन्न भइसक्दा समेत आफूहरूले रकम नपाएको भन्दै भूकम्प प्रभावितहरूले पुनर्निर्माण प्रधिकरणविरुद्ध आक्रोश पोखेका छन् ।

गाउँमा पानी नभएका कारण घर निर्माणमा समस्या आएको छ । सो अवसरमा स्थानीयले खानेपानीको व्यवस्था गर्न र कृषिमा लगानी बढाउनसमेत माग गरेका छन् ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर नारायण खनालले गाउँबासीको समस्या रहेको तर आफूहरूले काम गरिरहेको बताउँदै सम्झौता गरेपनि पहिलो किस्ता रकम नपाउने भूकम्प प्रभावितहरूले केही समयमै दोस्रो किस्ता रकम पाउने र गाउँमा उठेका गुनासोको समाधान वडा कार्यालय र इञ्जिनियर बसेर समाधान गर्ने बताए ।

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भूकम्प प्रभावितको समस्या समाधान गर्न लागि परेको, लाभग्राही सूचीमै नाम छुटेकाहरूले वडामार्फत सिफारिस गराउन आग्रह गरे ।

1

1

1

1

1

सीताराम अधिकारी