परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखराको आयोजनामा इन्सेकद्वारा कास्की जिल्लामा सञ्चालित परियोजनाका कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले चैत ११ गते जिल्ला परियोजना सल्लाहकार समितिको वैठक पोखरामा सम्पन्न भएको छ ।

Photo20170324Kaski

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत आयोजित वैठकमा सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले अङ्ग्रेजी भाषासँगै नेपाली भाषामा हुने पढाइलाई पनि महत्वमा साथ विद्यार्थीहरूलाई सिकाउनुपर्ने बताए ।

कास्की जिल्ला पशुसेवा कार्यलयका पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले पशुमा लाग्ने रोगले बेलाबेलामा ठुलै समस्या आउने र इन्सेकले आगामी दिनमा पशु-खोपको बारेमा सचेतना फैलाउनको लागि जिल्ला पशु सेवा कार्यलयसँगै सहकार्यमा काम गर्दा उपलब्धि राम्रो निस्कने बताए ।

कास्की जिल्ला बाल कल्याण समितिका बद्रीप्रसाद वाग्लेले इन्सेक सम्बद्ध बाल अधिकार चेतना समूह र विद्यालयमा गठन भएका बाल क्लबले गर्ने कामको प्रकृति एउटै भएकाले विद्यालयमा गठित बाल क्लबहरूले मिलेर काम गर्दा बालबालिकाको अधिकार संरक्षणका सवालमा पूर्ण नतिजा आउने बताए ।

पोखरा-लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले इन्सेकले हरेक ठाउँमा बालमैत्री र त्यसका अलावा शिक्षा, स्वास्थ्य, खाद्य र कृषि क्षेत्रका आवश्यकहरूलाई हेरेर कार्यक्रमको योजनाहरू बनाउन जरूरी रहेको बताए ।

वैठकका अध्यक्ष एवम् जिल्ला समन्वय समिति कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले इन्सेकले स्थानीय नागरिकका समस्याहरूलाई विस्तृत रूपमा सरोकारवालानिकाय समक्ष ल्याएको र शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रसँग सम्बन्धित सरकारी कार्यलयहरूले सहकार्य गरेमा आगामी दिनमा मापन योग्य उपलब्धिको महसुस गर्न सकिने बताए ।

संगीता भाट