नेपाल मानव अधिकार वर्ष पूस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  २०७८ पुस १२ गते

नेपाल मानव अधिकार वर्ष पूस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ११ गते सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले मानव अधिकार संरक्षणमा सबै पक्षको साझा बुझाइ र पहल आवश्यक रहेको बताउनुभयो । अधिकारको उल्लंघन कम गर्न मानव अधिकार सम्बन्धि शिक्षालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले नवलपरासी पूर्व जिल्लामा भएका घटनाहरुको अभिलेखिकरण गरेर त्यसलाई वर्ष पुस्तक मार्फत सार्वजनिक गर्नु पूर्व आयोजना गरिएको यस कार्यक्रम मार्फत जिल्लामा मानव अधिकारको अवस्थाको बारेमा थप जानकारी हासिल भएको उहाँले बताउनुभयो । नवलपुरमा बालबिबाह, बाल श्रम, स्वास्थ्यको क्षेत्र सहितका सवालहरुमा सबैको सहकार्यले समस्याहरु समाधान गर्न सकिने बताउनुभयो ।

Photo20211228Nawalpur

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी प्रकाश मल्लले मानव अधिकारको क्षेत्र व्यापक रहेको भन्दै अपराधसँगै शिक्षा, स्वास्थ्य लगायत सबै प्रकारका अधिकारहरुको प्रवाह कस्तो रहेको छ भन्ने विषयमा समेत पुस्तकमा विषयहरु समेट्न सुझाव दिनुभयो ।

तथ्याङ्कगत रुपमा बाल विवाहको घटनामा उजुरी दर्ता नहुँदा नदेखिएको भएपनि यो समस्या नवलपुरमा ज्यादै रहेको उहाँले बताउनुभयो ।

नदीजन्य पदार्थको अवैध निकासीमा बाल श्रमिक प्रयोग हुने गरेको गुनासो आएको भन्दै त्यसको लागि आफ्नो कार्यालयको तर्फबाट सचेतनाको काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका सभापति विरेन्द्र पराजुलीले इन्सेकले वार्षिक रुपमा प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले जिल्ला र समग्र राष्ट्रको अवस्था समेत झल्काउने बताउनुभयो ।

इन्सेकको अभिलेख अनुसार नवलपरासी ( बर्दाघाट सूस्ता पूर्व ) मा ४९ ओटा मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटना भएका छन ।  जसमा  बाल अधिकार हननका सबैभन्दा धेरै घटना रहेको छ ।

 

तिर्थराज डुम्रे