नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँको आयोजनामा धुलिखेलमा पुस २६ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सुरु भएको छ ।

भेलामा जिल्ला प्रतिनिधिहरुले आआफ्ना जिल्लाका मानव अधिकार तथा ज्यादतिका घटनाका सम्बन्धमा जानकारी दिएका छन् ।

जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई फलोअप सहित सत्यतथ्यमा आधारित रहेर मात्र वर्ष पुस्तकमा प्रकाशन गरिने हुँदा सम्पादन भेलाको महत्व रहेको इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले बताए ।

गौतमले इन्सेक जिल्ला प्रतिनिधिहरू मानव अधिकार र सामाजिक न्यायका लागि साँझबिहान नभनिकन क्रियाशिल भएकै कारण जिल्लामा स्थापित रहेका र त्यसलाई कम हुन नदिन सदैव चनाखो रहेर मानव अधिकार रक्षाको लागि कार्यरत रहन आग्रह गरे ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले वर्ष पुस्तकमा समेटिने घटनाको मिति, घटना विवरणलगायतका विवरण स्पष्ट हुनुपर्ने बताए । उनले बलात्कार, घरेलु हिंसा, हत्या जस्ता घटनामात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा पनि जिल्लाको अवस्थाको विश्लेषण गर्न आवश्यक रहेको बताए ।

इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरूले जिल्लामा मानव अधिकारको क्षेत्रमा आफूले गरेका कामहरू लिपिबद्ध गरेर राख्न जरूरी रहेको बताए ।

धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीले जिल्लामा बाल बिवाहका घटना सार्वजनिक नभए पनि अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा प्रसूति गराउन आउनेहरू मध्ये २० वर्ष मुनिका युवतीहरू एक वर्ष भित्र १ हजार ५ सय ४२ जना रहेको बताए ।

photo20190110kabhre (1)

photo20190110kabhre (2)

photo20190110kabhre (3)

इन्सेक प्रदेश ३ कार्यालय, काठमाडौँ