नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा मङ्सिर ११ गते जिल्ला समन्वय समिति जलेश्वर, महोत्तरीको सभा कक्षमा मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले महोत्तरी जिल्लामा सन् २०१८ मा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए ।

इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गरेका २ सय ५२ ओटा घटनामा २ सय ३६ जना महिला र १७ जना पुरुष पीडित भएका छन् । जसमध्ये दुई जना पुरुष राज्य पक्षबाट पीडित भएका छन् भने बाँकी गैर राज्य पक्षबाट पीडित बनेका छन् ।

प्रस्तुत घटनाहरुमा कथित बोक्सीको आरोप एक, घरेलु हिंसा २ सय २, बलात्कार १७, बलात्कार प्रयास सात, हत्या पाँच, हत्या प्रयास आठ, जातीय विभेद दुई, बहुविवाह तीन, अपहरण एक र यातना–दुव्र्यवहार एक ओटा घटना रहेका छन् ।

जिल्ला समन्वय समितिका सभापति सुरेशप्रसाद सिंहले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घनका घटनाहरू अभिलेखीकरण गर्ने कार्य सराहनीय रहेको बताए । उनले अहिले समाजमा देखिएका धेरै जसो घटनाहरूमा मानवीय संवेदनशीलतामा समेत कमी आएको देखिएको बताए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मानव अधिकारको संरक्षणमा आफू सधैँ प्रतिबद्ध हुँदै आएको बताए । उनले सुरक्षा निकायसँग भएको सीमित श्रोत, साधन र प्रविधिको बलमा चाहे जस्तो शान्ति सुरक्षा दिन चुनौतीको विषय भएको बताए । प्रमुख जिल्ला अधिकारी ढकालले मानव अधिकार उल्लघङ्नका घटनाहरूमा कमी ल्याउन राज्य गम्भीर भएको बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद खड्काले हरेक घटनामा आफू सम्वेदनशील भएर मानव अधिकारको संरक्षणमा क्रियाशील भएको बताए । उनले यस प्रतिवेदनमा प्रस्तुत गरिएको सुरक्षाकर्मीद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाका बारेमा भने–‘नेपाल टेलिभिजन महोत्तरी सम्वाददाता राजिव रायलाई फोटो खिच्ने विषयमा दुव्र्यवहार गर्ने प्रहरी जवान र प्रहरी हवल्दारलाई विभागीय कारवाही तथा एक पटकलाई नसिहत समेत दिइएको छ ।’

पत्रकार राकेश चौधरीले नागरिकहरूको सचेतनाका कारणले घटनाहरू बढी प्रकाशमा आएको बताए ।

महिला अधिकारकर्मी रन्जु बरालले अहिले लैङ्गिक हिंसा विरूद्धको अभियान सञ्चालन भइरहेको बेला इन्सेकले प्रस्तुत गरेको मानव अधिकार उल्लङ्घनको घटनाबारे सबै क्षेत्रबाट गम्भीरता पूर्वक लिनु पर्ने र घटनामा कमी ल्याउनको लागि जनचेतना मुलक अभियानहरू सञ्चालन गर्नु पर्ने बताए । उनले महिलामाथि हुने हिंसाका घटना जिल्ला तहमा आधाभन्दा बढी नै रहेकाले सबै जना जुटेर मानव अधिकारको लागि लाग्न आग्रह गरिन् ।

फस्ट राइफल गण परिकौलीका गणपति कृष्ण खड्काले हिंसाको अन्त्यका लागि प्रहरी, सामाजिक अगुवा सबै मिलेर अभियान चाल्नु पर्नेमा जोड दिए । उनले इन्सेकले प्रतिवेदनमा सुरक्षाकर्मीहरूले झेल्नु परेका समस्या र चुनौतीको विषय समेत समावेश गर्न सुझाव दिए ।

photo20181127mahottari (1)

photo20181127mahottari (2)

photo20181127mahottari (3)

photo20181127mahottari (6)
अजयकुमार साह