नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८१ पुस ४ गते

दैलेखमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ३ गते सम्पन्न भएको छ ।

Photo19122024Dailekh1

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल दाहालले विधिको शासन पालना गराउन मानव अधिकार सचेतना अभियानले सघाएको बताउनु भयो । गैसस महासङ्घ दैलेखका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले महिला माथि हुने हिंसा नरोकिएको कुरा इन्सेकले सङ्कलन गरेको तथ्याङ्क समेतले जनाएको उल्लेख गर्दै पुरुष प्रधान मान्यताले बलात्कार, घरेलु हिंसा र छाउपडी प्रथा लगायतका सामाजिक कुचलनले महिलाहरू अझैँ थिचोमिचो रहेको सुनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले देशमा मावन अधिकार प्रवर्द्धनमा इन्सेकले खेलेको भूमिकाको प्रशंसा गर्दै खबरदारी अझै बढाउन आग्रह गर्नुभयो । देशमा अराजकता र अशान्ति हटाउन सचेतना अभियान प्रभावकारी बनाउन सबै क्षेत्रको तत्परता जरुरी रहेको बताउनु भयो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाही, नेकपा एमालेका जिल्ला उपसचिव मीनबहादुर बुढा, नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा, दैलेख बार एशोसियसनका जिल्ला अध्यक्ष ललित थापा, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक अनुराग, युवा अभियन्ता प्रकाश बुढा लगायतले मानव अधिकार वर्ष पुस्तक घटना बारे बोल्नुभएको थियो । मानव अधिकार वर्ष पुस्तक पूर्वसमीक्षा कार्यक्रमकै क्रममा नेपाल पत्रकार महासङ्घ दैलेख शाखाको नयाँ कार्यसमितिले सुझाव सङ्कलन अन्तरक्रिया समेत जोडिएको थियो ।

नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य नविन रिजालले दैलेख शाखामा पाको परिपक्व महासङ्घको नयाँ नेतृत्वले संस्थागत विकास र पत्रकारहरूको क्षमता विकासमा राम्रो काम गर्ने आशा जगाएको बताउनु भयो । महासङ्घको शाखा कार्यालय चलाउन डेकेन्द्र स्मृति भवन बनाउने निर्णय र सुझाव सङ्कलन अन्तरक्रियाले पनि राम्रो सन्देश दिएको उहाँले चर्चा गर्नुभयो ।

इन्सेकले सन् २०२४ अवधिमा सङ्कलन गरको मानव अधिकार वर्ष पुस्तक घटनाहरूको पूर्व समीक्षा गरिएको थियो । नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष एवम् इन्सेक जिल्ला प्रतिनिधि सुनारले सन् २०२४ मा दैलेखमा ७५ ओटा घटना अभिलेखीकरण भएका जानकारी दिनुभयो । अभिलेखीकरण भएको घटनामा बालिका बलात्कार १७ ओटा, घरेलु हिंसा १६ ओटा, बहुविवाह आठ ओटा, कुटपिट आठ ओटा, महिला बलात्कार ६ ओटा, हत्या पाँच ओटा, यौन दुर्व्यवहार पाँच ओटा, हत्या प्रयास चार ओटा, आत्महत्या दुरुत्साहन तीन ओटा र कथित बोक्सी आरोप एक ओटा घटना रहेको बताइएको छ ।

Photo19122024Dailekh

अमर सुनार