नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८१ पुस ४ गते

गुल्मीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ३ गते सम्पन्न भएको छ ।

Photo19122024Gulmi

राष्ट्रिय सभा सदस्य बिष्णु सापकोटको विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्लाको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको बारेमा इन्सेक प्रतिनिधिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस वर्ष गुल्मी जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५३ जना व्यक्ति पीडित भएको इन्सेकले अभिलेख गर्‍यो । जसमध्ये बाल अधिकार उल्लङ्घनका तर्फ अन्तरगत पाँच बालिका बलात्कार तथा यौन दुर्व्यवहार घटनामा पीडित भए । महिला अधिकार उल्लङ्घनका घटनामा तीन महिला पीडित भए । एक जना महिलाको हत्या भयो । घरेलु हिंसाबाट ४४ जना महिला पीडित बनेको इन्सेकले अभिलेख गर्‍यो ।

कार्याक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, नेपाल बार एसोशियसन, कारागार कार्यालय, अधिकारकर्मी एवम् पत्रकारहरूको सहभागीता रहेको थियो । कार्यक्रममा नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेयले तीन तहका सरकारको प्राथमिकतामा मानव अधिकार नपर्नु दुखद भएको बताउनु भयो । उहाँले श्रोत र साधनबिना निर्माण भएका नीति कार्यान्वन गर्न नसकेका कारण नागरिकमा चरम निराशाको स्थिति रहेको बताउनु भयो ।

सहायक प्रमुुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले सरकारले श्रोत र साधन नदिने तर नीति मात्र निर्माण गरेकाले आफूहरू पनि नागरिकका आक्रोश आउने गरेको बताउनु भयो । उहाँले इन्सेकले उठाएका सवै विषयमा आफू सहमत रहेको बताउँदै सकेसम्म कार्यान्यन गरिएको बताउनु भयो ।

जिल्ला कारागार कार्यालय गुल्मीका प्रमुख रेश्मीराज पन्थीले कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षणमा परेको प्रभावका बारेमा जानकारी गराउनुभयो । साथै जग्गा अभावको कारण औद्योगिकग्रामको रुपमा अगाडी बढाउन नसकिएको, महिला पुरुषको छुट्टाछुट्टै भेटघाट गर्ने मार्गको अभाव भएको पन्थीले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले विद्यालयमा विषय शिक्षक नहुँदा पढाई प्रभावित र शिक्षकहरूले भटाभट राजिनाम दिन थालेकाले समस्या सृजना भइरहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुपेन्द्र थापाले प्रहरीले महिला बालबालिकाको क्षेत्रमा भएका मुद्दा र कारबाहीको विषयमा जानकारी दिनुभएको थियो ।

Photo19122024Gulmi1

टोपलाल अर्याल