नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८१ मङ्सिर २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २५ गते सिन्धुलीमा सम्पन्न भएको छ ।

सन् २०२४ जनवरीदेखि हालसम्म इन्सेकले १ सय २७ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरेको छ । जसमध्ये सबैभन्दा धेरै १२ बालिका बलात्कृत भएका छन् । जिल्लामा परिवारजनबाट हत्या तीन, बलात्कार १८, बलात्कार प्रयास आठ, बेचबिखन चार, बालयौन दुर्व्यवहार एक, बहुविवाह ६, बालविवाह एक, विद्यालयमा दिइने शारीरिक सजाय एक, घरेलु हिंसा ८४ गरी हालसम्म १ सय २७ ओटा मानव  अधिकार उल्लङ्घनका घटना इन्सेकले अभिलेख गरेको छ । इन्सेकको अभिलेख अनुसार राज्य पक्षबाट दुई जना पीडित भएका छन् भने १ सय २४ जना अन्य पक्षबाट पीडित भएका छन् । विद्यालयको भौतिक संरचना क्षति एक रहेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला अदालत सिन्धुलीका श्रेस्तेदार बिदुरप्रसाद कोइरालाले घटना अभिलेखसँगै कुन निकय जिम्मेवार नहुँदा घटना बढेको त्यस्ता निकायलाई जिम्मेवार बनाउन पहल गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार भित्र धेरै कुराहरु पर्ने भएकाले यस भन्दा बाहेक समाजमा वैदेशिक रोजगारीले निम्त्याका समस्याका सवालमा पनि इन्सेकले आवाज उठाउनु पर्ने उहाँको भनाई छ । देशमा नै स्वरोजगार केन्द्रमार्फत रोजगारी सिर्जना गर्न सके परिवार र समाजमा विचलन आउन नसक्ने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिलप्रसाद चौरासियाले प्रहरीलाई प्राप्त सूचनाका आधारमा प्रहरीले मानव अधिकारको रक्षाका लागि लागि पर्ने बताउनु भयो । जिल्लामा बालविवाहको समस्या बढ्दो अवस्थामा रहेको धेरैबाट सुन्न सकिने तर उजुरी नआउने गरेको उहाँको भनाइ छ । समाजमा बालविवाह हुँदै गरेको अवस्थामा प्रहरीलाई जानकारी गराउन समेत उहाँले आग्रह गर्नु भयो । प्रहरीले विद्यालयमा शिक्षक प्रहरी कार्याक्रममार्फत विद्यालयहरुमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भयो ।

photo20241210sindhuli

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले इन्सेकले मानव अधिकारका मुद्दाहरु जिल्ला र स्थानीय तह सम्म उठाउन सक्ने अवस्था बनाएको बताउनु भयो । मानव अधिकार उल्लङ्घनका घटनाहरुको अध्ययन, अनुगमन, अभिलेख तथा पैरवि गर्ने काम इन्सेकले गर्दै आएको बताउँदै नेपालको मानव अधिकारको अवस्थाको बारेम इन्सेक नै एक मात्र संस्था रहेको बताउनु भयो । मानव अधिकार दिवसको शुभकामना व्यक्त गर्दै उहाँले राज्य पीडितमैत्री बन्न नसकेको गुनासो गर्दै राज्यले नागरिकलाई बोल्ने अधिकार दिएपनि गास, बास, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत अधिकार नागरिक समक्ष पुर्‍याउन नसकेको उहाँले बताउनु भयो ।

यसैबिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजना र मानव अधिकार तथा असल शासन युवा क्वल सिन्धुली, नेपाल युवा संस्था सिन्धुलीको समन्वय एवम् सहजीकरणमा विश्व मानव अधिकार दिवसको अवसरमा “नेपाली समाजमा बैदेशिक रोजगारीले निम्त्याएका मानव अधिकारका सवालहरु” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मानव अधिकार तथा असल शासन युवा क्लव सिन्धुलीका अध्यक्ष नानिबाबु घिमिरेले विषयबस्तु माथि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वैदेशिक रोजगारीले मानव अधिकारका सवालमा रोजगारी, पारिवारिक जीवन तथा बालबालिकाको अधिकार, स्वास्थ्यको अधिकार, श्रम शोषण, मानव बेचबिखन, सम्बन्ध विच्छेद, पारिवारिक झगडा, सामाजिक अस्थिरता, आत्महत्या, सामाजिक अपराध, सांस्कृतिक अधिकार र पहिचानमा प्रभाव पारेको विषयमा छलफल भएको थियो । साथै देश भित्र रोजगारी सिर्जना गर्नु, वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउदै श्रमिक अधिकार संरक्षण गर्नु, सामाजिक सुरक्षाको सुनिश्चितता, मानसिक स्वास्थ्य सेवामा सुधार, शिक्षा र चेतनाका कार्यक्रम सञ्चालन, रेमिट्यान्सको सदुपयोग, श्रम सम्झौताको पुनरावलोकन, विदेशमा रहेका श्रमिकहरुको डिजिटल सहायता प्रणलि जस्ता क्षेत्रमा काम गरे समस्या समाधान हुने बताइएको थियो ।

नबिनबाबु अधिकारी