नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  ०८१ असार १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को  अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको  हो ।

सन् २०२४ को जनवरी १ देखि जुन ३० सम्म ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङघन तथा ज्यादतीका २३ ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।

महिला तथा बालिका बलात्कारका १०, घरेलु हिंसाका १० ओटा, हत्याका दुई  र जातीय विभेदका एक ओटा घटना अभिलेखीकरण गरिएको छ ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाक्टर नारायण ढकालले मानव अधिकार सम्बन्धी सचेतनाका कार्यक्रम सँगै मानव अधिकारको क्षेत्रमा भएका असल अभ्यासलाई पनि इन्सेक अभिलेखमा समेट्न आवश्यक रहेको बताउनुभयो । आफूहरूले मानव अधिकारलाई केन्द्र विन्दुमा राखेर काम  गर्दै आएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।

जिल्ला समन्वय समिति उपप्रमुख तारादेवी कार्कीले मदिरा सेवनका कारण पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना भइरहेको बताउँदै मानव अधिकारविरूद्धका घटना न्यूनीकरणका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनु भयो । इन्सेकले गरेको काम राम्रो रहेको र यसलाई अझ स्थानीयस्तरसम्म पुर्याउन पहल गर्नुपर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले प्रहरीले मानव अधिकारको सुनिश्चितताको लागि निरन्तर भूमिका खेलिरहेको बताउनु भयो । नागरिकको मानव अधिकारको क्षेत्रमा काम गर्ने प्रहरीको मानव अधिकारको विषयमा पनि आवाज उठाइदिनुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।

पीडितको मानव अधिकार हनन नहोस भन्ने किसिमले आफूहरूले काम गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता विश्वास सुनुवारले बताउनु भयो । स्थानीय तहमा मानव अधिकारको क्षेत्रमा काम भएका छन् कि छैनन भन्ने कुरामा पनि ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउनु भयो ।

जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद घिमिरेले पीडितलाई आवश्यक क्षतिपूर्ति भराउने कुरालाई पनि जोड दिएर काम भइरहेको बताउनु भयो । आफूहरू मानव अधिकारको संरक्षणको लागि प्रतिवद्ध रहेको घिमिरेले बताउनु भयो ।

पत्रकार शिवप्रसाद ढुङ्गानाले आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका सवालसँगै विकासका अधिकारलाई पनि समेट्न आवश्यक रहेको बताउनु भयो ।

समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Photo 20240701 Okhaldhunga (1)

Photo 20240701 Okhaldhunga (2)

Photo 20240701 Okhaldhunga (3)

Photo 20240701 Okhaldhunga (4)

Photo 20240701 Okhaldhunga (5)

Photo 20240701 Okhaldhunga (6)

Photo 20240701 Okhaldhungaa

सरस्वती बानिया