नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

  ०८१ असार ११ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व नवलपरासी पश्चिममा अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार ११ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक नवलपरासी पश्चिम जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवलपरासी पश्चिम जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म भएका ७५ ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरूमा बलात्कार तथा बलात्कार प्रयास १४ ओटा, हत्या ६ ओटा, हत्या प्रयास एक ओटा, आत्महत्या दुरुत्साहन एक ओटा, मानव बेचबिखन तथा ओसारपसार एक ओटा, कुटपिट एक ओटा र घरेलु हिंसा ५१ ओटा रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले सात ओटै स्थानीय तहमा के कस्ता गतिविधि भएका छन् ? मानव अधिकारको अवस्था के छ ? आउनु पर्ने घटनाहरू आए नआएको बारेमा जानकारी लिइ छुटेका घटनालाई समावेश गर्न जोड दिनुभयो । उहाँले जिल्लामा रहेको एक मात्र सेफ हाउस प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकोले सात ओटै स्थानीय तहले आर्थिक तथा भौतिक सहयोग गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर कुँवरले पिछडिएका वर्गहरूमा सचेतना कार्यक्रम लैजानुपर्ने, घटना सबै समेटिएकोमा इन्सेकलाई धन्यवाद दिँदै आगामी दिनमा यसलाई अलि परिष्कृत र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अहिले पनि न्याय प्राप्तीको गतिमा ढिलासुस्ती यथावतै रहेको, अपेक्षाकृत रुपमा नागरिकले अनुभुती हुने गरी सेवा पाउन नसकेको, गणतन्त्र प्राप्ती पछि पनि नागरिकका चाहना र अपेक्षा पूरा हुन नसकेको बताउनु भयो । स्थानीय तहको न्यायिक समितिमा खासै उजुरी आउन नसकेको जस्ता कुराहरू बताउँदै यसको विश्वसनीयता बढाई सुधार गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले समन्वय र सहकार्य गरेर अगाडि बढ्दै मानव अधिकार उल्लङ्घनलाई न्यूनीकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । सशक्तीकरण नेपालकी पुष्पा लामाले सुत्केरी तथा बालबालिकाहरूलाई पोषणयुक्त खाना, बालबालिकाको पठनपाठनमा चासो र रुची सहित अवस्थाबारे जानकारी गराउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहरा, सशस्त्र प्रहरीका इन्सपेक्टर बोमबहादुर कुँवर, पृथ्वी चन्द्र जिल्ला अस्पतालका मेसु मोहम्मद नुरुल होदा, जिल्ला अदालतका शाखा अधिकृत भेषराज खनाल, बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता धन शर्मा जैसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

Photo25062024Nawalparasi West1

Photo25062024Nawalparasi West

नारायण पराजुली