नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८० मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा धादिङमा इन्सेकले सङ्कलन गरेका घटना बारे जानकारी गराउनुभएको थियो । उहाँले धादिङमा यस वर्ष ६९ ओटा घटना सङ्कलन भएकामा कथित बोक्सी आरोप एक जना, बहुविवाह एक जना, बलात्कार आठ जना, बलात्कार प्रयास ६ जना, महिला बेचबिखन दुई जना, बालबालिका बेचबिखन एक जना, शारीरिक सजाय एक जना, बालबालिका बलात्कार १८ जना, यौन दुर्व्यवहार ६ जना, राजनीतिक गतिविधिमा बालबालिका प्रयोग एक जना घटना भएको जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले जन्मेदेखी मरुन्जेलसम्मका अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनु भयो । संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँको भनाई छ ।

अपाङ्गता, दलित, महिला जस्ता पीडितले न्याय पाउन सकेको छैन । सरकारले दिने छुट समेत नपाएको र सवारी साधनमा समेत छुट नपाएको अपाङ्गता अधिकारमा क्रियाशिल दुर्गाप्रसाद थपलियाले गुनासो गर्नुभयो ।

विगतका समयमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा उठाइएका सवालहरु कुन चरणमा पुगे, सरकार मानवअधिकार आयोगले कसरी सम्बोधन गरे भन्नेबारे नेपाल पत्रकार महासङ्घकका अध्यक्ष राजाराम शर्माले प्रश्न गर्नुभयो ।

पीडित गाउँमा छ्न्, न्यूनीकरण र सवालका कुरा शहरी क्षेत्रमा हुन्छन् । जबसम्म गाउँमा कार्यक्रम हुन्न तबसम्म न्यूनीकरण गर्न कठिन छ । समस्या भएको ठाउँबाटै समाधान खोज्ने अधिकारकर्मी भगवती पौडेलले आग्रह गर्नुभयो ।

अपराध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्न नेपाल प्रहरी तल्लीन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो । मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका छन् । पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले काम गरिरहेको उहाँको भनाइ छ ।

नागरिकता सिफारिस, जन्मदर्ता लगायतको विषय जटिल रहेपनि पछिल्लो समय नागरिकले सेवा पाएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको भनाई छ ।

मानव अधिकारको पहरेदार पत्रकार र अदालत हो । मुद्दाको प्रकृति हेरेर समयसिमा भित्रै न्याय निरुपण भइरहेको जिल्ला अदालतका माधव भण्डारीले बताउनु भयो । मानव अधिकार दिलाउने अन्तिम ढोका भनेकै अदालत भएको र निवेदन परेका केसहरुको सुनुवाइ भएको भण्डारीले उल्लेख गर्नुभयो । सरोकारवाला सबै निकायसङ्ग समन्वय गरेर समयसिमाभित्रै समाधान खोज्ने प्रयास गरिएको भण्डारीको भनाइ छ ।

Photo_080-8-24_Dhading

Photo_080-8-24_Dhading1

सीताराम अधिकारी