नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रामेछापमा इन्सेकले सङ्कलन गरेका घटना बारे जानकारी गराउनुभएको थियो । उहाँले रामेछापमा यस वर्ष २८ ओटा घटना सङ्कलन भएकामा बलात्कारका घटना धेरै भएका जानकारी दिनुभयो । उहाँले हत्याको एक ओटा, कुटपिटका चार ओटा, धम्कीका दुई ओटा, जेलमा मृत्युका दुई ओटा, बाल यौन दुर्व्यवहारको एक ओटा, बालिका बलात्कारको ६ ओटा, घरेलु हिंसाका चार ओटा, बलात्कारका चार ओटा लगायतका घटना इन्सेकले अभिलेखीकरण गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले मानव अधिकारको विषय सबैको साझा सरोकारको विषय भएको बताउनु भयो ।

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापाले मानव अधिकार संरक्षणका लागि मानव अधिकार संस्थालाई सचेतनाका अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मानव अधिकारको संरक्षणको लागि हरेक व्यक्ति घरबाटै लाग्नु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले मानव अधिकारको विषय व्यापक भएको बताउनु भयो । व्यक्ति व्यक्ति सुध्रिए मात्र मानव अधिकार संरक्षण हुने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी होमबहादुर पराजुलीले मानव अधिकारको हिसाबले रामेछापको अवस्था सामान्य रहेको बताउनु भयो । तर बलात्कार र आत्महत्याका घटना नियन्त्रणमा भने सबैको ध्यान जानु पर्ने उहाँले बताउनु भयो ।

Photo_080-8-24_Ramechhap

Photo_080-8-24_Ramechhap1

Photo_080-8-24_Ramechhap3

Photo_080-8-24_Ramechhap2

नवराज घिमिरे