नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा सम्पन्न

  ०७५ मङ्सिर ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले भुगोल क्षेत्र अनुसार मानव अधिकारको आवश्यकता र परिभाषा फरक हुने भन्दै इन्सेकले देशव्यापी रूपमा गरिरहेको मानव अधिकारको अनुगमन र प्रलेख कार्य उदाहारणीय भएको बताए ।

Photo20181119Baglung3

प्रमुख जिल्ला अधिकारी खरेलले पछिल्लो समय मानव अधिकारको नारा गास, बास र कपासबाट माथि उठेर आफ्नो शरीर आफ्नो अधिकारसम्म पुगेको भन्दै इन्सेकले आफ्ना कार्यक्रम र गतिविधिहरूमा पनि परिर्वतन गर्नुपर्ने सुझाव दिए ।

उच्च अदालत, बार इकाई बागलुङका अध्यक्ष केशवराज पराजुलीले पछिल्लो समयमा बलात्कारजन्य घटना बढी देखिन थालेको प्रति चिन्ता व्यक्त गर्दै अपराधिक गतिविधिको गाम्भिर्यतालाई मध्यनजर गरेर बाहिर ल्याउनुपर्ने बताए ।

Photo20181119Baglung2

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले गत पुस १७ गतेदेखि यहि मङ्सिर १ गतेसम्म सङ्कलन गरेका ५७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गरेकी थिइन् ।

झण्डै एक वर्षको अवधिमा घरेलु हिंसाका ३९, बलात्कारका ६, बलात्कार प्रयासका नौ र बहुविवाहका तीनओटा घटना इन्सेकले अभिलेख गरेको छ । बलात्कार र बलात्कार प्रयासका घटनामा पीडित १५ जना मध्ये नौ जना बालिका रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख  छ ।

सिर्जना पन्त