नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

इन्सेक, धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते धनकुटामा सम्पन्न गरिएको छ ।

photo 2023029 dhankuta (1)

सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ५७ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुबाट ५८ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

६ महिनाको अवधिमा जिल्लामा दुई जनाको हत्या, झडपबाट दुई जना घाइते, मोसो दलेर दुव्र्यवहारको घटना एक, कथित बोक्सीको आरोप एक, कुटपिट एक, तीन बालिकासहित सात जना बलात्कृत, बाल यौन दुर्व्यवहारका घटना दुई, घरेलु हिंसा ४० जना, सार्वजनिक सेवाबाट वञ्चित एक जना, तलब नपाएको एक गरी ५८ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

समीक्षामा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले इन्सेकको अभिलेखीकरण राम्रो भएको बताउँदै यसले समाजको चित्रण गरेको बताउनु भयो । उहाँले इन्सेकले अभिलेखीकरण गरेका घटना न्यूनीकरण गर्नको लागि घरपरिवार र समाजमा सबै जना सचेतना हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारी तथा गैरसरकारी सबै निकाय मिलेर मानव अधिकारका घटना न्यूनीकरणको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ६ गुल्म धनकुटाका डिएसपी दीपक बलामी मगरले समाजमा जातीय, लैंगिक विभेद कायम रहेकोले मानव अधिकार उल्लंघनका घटना बढेको बताउनु भयो । उहाँले इन्सेकको प्रतिवेदनमा घरेलु हिंसा बढेकोले त्यसमा तल्लो तहमा सचेतना आवश्यक रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर मानप्रसाद श्रेष्ठले मानिसमा चेतना हुँदाहुँदै घटना भएको पाइएकोले मुद्दा र कानुनी प्रक्रियाले मात्रै समस्या समाधान नभएको बताउनु भयो । उहाँले मानव अधिकार संरक्षणमा सबै लागि पर्नुपर्ने र प्रहरी तथा प्रशासनको एकल प्रयासले नहुने भएकाले जनस्तरबाट पहल हुनुपर्ने बताउनु भयो ।

हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भुजेलले वर्ष पुस्तकको महत्व धेरै रहेको बताउँदै यसले समाजको चित्रण गरेको बताउनु भयो । उहाँले मानव अधिकार संरक्षणमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ धनकुटा अध्यक्ष मिनप्रसाद सुवेदीले गएका वर्षहरुमा धनकुटामा बालविबाह र बोक्सीको आरोपका घटना नभएको बताउँदै यो वर्ष भेटिनुमा समाज कुन दिशामा जाँदैछ भन्ने प्रश्न खडा भएको बताउनु भयो । उहाँले सबै पक्ष गम्भिर बनेमा मानवअधिकार संरक्षण हुने बताउनु भयो ।

पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटाका क्रियाशिल पत्रकार तथा मानवअधिकारसंग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

photo 2023029 dhankuta (2)

ईश्वर थापा