नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

  ०८० असार १५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १४ गते सम्पन्न गरिएको छ ।

Photo 20230629 taplejung (5)

जिल्लामा सन् २०२३ को ६ महिनाको (०७९ पुस–०८० असार) अवधिमा १२ ओटा मानव अधिकारसँग सम्बन्धित घटना भएको इन्सेकले जनाएको छ ।

इन्सेक अभिलेखका आधारमा पाँच ओटा बलात्कार, चार ओटा घरेलु हिंसा, दुई ओटा हत्या र एक ओटा वहुविवाहका घटना छन् ।

फक्ताङलुङ गाउँपालिका–६ लेलेपकी ६ वर्षीया वर्षीया बालिका सोनिया लिम्बूको हत्या तथा १९ वर्षीया बलात्कार पीडित युवतीले छोरी जन्माएपछि पीडित र परिवारले भोग्नुपरेका विषयलाई इन्सेकले समीक्षामा उठाएको छ ।

सिरीजङगा गाउँपालिका–३ सिकैचामा घरायसी विवादमा पति लक्ष्मण राईले चिर्पट प्रहार गरी हत्या गरेकी ३१ वर्षीया निशा राईको तीन जना छोराछोरीको विचल्ली भएको विषयलाई इन्सेकले समीक्षामा केन्द्रमा राखेको छ ।

सहोदर दाजुबाट बलात्कृत भएकी अपांगता भएकी २४ वर्षीया महिलाको पीडा र घरेलु हिंसा पीडित महिलाको समस्याबारे समीक्षा चर्चा गरिएको छ ।

इन्सेक प्रतिनिधिले प्रतिवेदन सार्वजनिक गर्दै भन्नुभयो,‘मानव अधिकारसँग सम्बन्धित घटना छुट्न हुँदैन् । त्यही भएर छुटेका घटना तथा मानव अधिकारको विषयमा सबैको ध्यान जानुपर्छ ।’

इन्सेक मानव अधिकारको ऐना भएको कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बलबहादुर साम्सोहाङले बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकारका घटनावाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको समेत तथ्याङ्क संकलन गर्नु उपलब्धिमूलक भएको बताउनु भयो । इन्सेकले राज्य र गैरराज्य पक्षलाई मानव अधिकारको पालना गराउन प्रेरित गर्ने काम गरेको साम्सोहाङले बताउनु भयो । उहाँले भन्नुभयो,‘पीडितलाई न्याय र पीडकलाई कारवाहीको आवाज निरन्तर उठाओस । मानव अधिकारको विषयमा सदैव अग्रभागमा देख्न पाइयोस् ।’

समीक्षामा जिल्ला भूमि आयोगका अध्यक्ष कृष्णकुमार बस्नेतले हालसम्म १ हजार ४ सय १४ जनाको निवेदन प्राप्त भएको बताउनु भयो । भूमिहीन र भूमिहीनसुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्राप्त निवेदनको आधारमा सत्य तथ्य जाँच गरी लालपुर्जा प्रदान गर्ने तयारी रहेको अध्यक्ष बस्नेतले बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नुभयो,‘घर र जमिनविहीन हुन नदिने सरकारको योजना छ । त्यही अनुरुप आयोगले काम गरेको छ ।’

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशराम कार्कीले मानव अधिकारको विषयमा प्रहरी सम्वेदनशील भएको बताउनु भयो । उहाँले चालू आर्थिक वर्षमा (साउन–असार) १८ ओटा बलात्कारका घटना दर्ता भएको जानकारी दिनु भयो । तीमध्ये ११ ओटा फर्छौट,  दुई ओटा घटनाका आरोपित फरार र एक ओटा घटनामा अनुसन्धान भइरहेको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले मानव अधिकारको विषयमा प्रशासन गम्भीर भएको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्यसँग जोडिएको दैनिक उपभोग्य खाद्य पदार्थको अनुगमन गर्ने गरेको बताउनु भयो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर जोड्ने हेवाखोला पुल बाढीले क्षति गरेपछि बजारमा कालोबजारीको हल्ला फैलाएको गुनासो गर्नुभयो । अध्यक्ष थापाले भने,‘सामाजिक सञ्जालदेखि चिया गफमा समेत तथ्यहीन हल्ला चलाएको पाइयो । कालोवजारी गरेको प्रमाण भए प्रशासनसँग मिलेर कारवाही गर्न तयार रहेको बताउनु भयो ।

जिल्ला कारागारका प्रमख कुलेन्द्र खवासले कारागारमा क्षमताभन्दा तेब्बर कैदी तथा थुनुवा राखिएको भएपनि सेवा सुविधाबाट वञ्चित नगरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘वर्षातका बेला पिउने पानी दूषित भए रोग फैलने खतरा हुन्छ । तर मुहानकै पानी भएकाले स्वास्थ्यका लागि समस्या छैन् ।’ कैदी तथा थुनुवाले उत्पादन गरेका सामाग्री तोकिएकै मूल्यमा विक्री हुने गरेकाले समस्या छैन् ।

अधिकारकर्मी कुमार सिंवाले घरदेखि गाउँ तथा शहरमा जातीय विभेद तथा मानव अधिकारको विषयमा आवाज चर्को गरी उठाउनुपर्ने सुझाव दिनु भयो ।

डिभिजन वन प्रमुख बद्रीप्रसाद शाहले दोभान र हान्द्रुङस्थित तमोर नदीको किनारमा भेनियर उद्योगले कच्चा पदार्थका सामाग्री थुपारेको भन्दै एक हप्ताभित्र परिपत्र गर्ने बताउनु भयो । डिभिजन वन प्रमूख शाहले भने,‘मौलिक हकमै स्वच्छ बातावरणमा जिउने हक छ । तर उद्योगले खोलानाला दूषित गरेर जीवजन्तुदेखि मानव स्वास्थ्यमा खतरा निम्त्याउने छुट छैन् ।’

समीक्षामा गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदी, पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष आनन्द गौतम, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, नेपाल वार इकाइका सचिव ठाकुरसिंह साम्सोहाङ, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको उपस्थिति थियो ।

Photo 20230629 taplejung (1)

Photo 20230629 taplejung (2)

Photo 20230629 taplejung (3)

Photo 20230629 taplejung (4)

Photo 20230629 taplejung (6)

Photo 20230629 taplejung (7)

Photo 20230629 taplejung (8)

Photo 20230629 taplejung (9)

देवराज गुरुङ