नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०७९ मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा इन्सेकले सन् २०२२ जनवरीदेखि डिसेम्वर महिनासम्म  अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।

समीक्षामा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा ११ महिनाको अवधिमा बाल अधिकार उल्लङ्घनका १५ ओटा, महिला अधिकार उल्लङ्घनका ११ ओटा, नागरिक तथा राजनीतिक अधिकारका १६ ओटा घटना अभिलेखीकरण गरी सार्वजनिक गर्नु भएको छ ।

समीक्षा कार्यक्रममा जिल्लामा रहस्यमय मृत्यु घटनामा पीडितलाई न्यायका लागि पहल गर्न आग्रह गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाएको विषयमा सरोकारवालाबिच समीक्षा गरिएको छ ।

कार्यक्रममा संविधानसभा सदस्य विशाल भट्टराईले मानव अधिकारकार जन्मसिद्ध अधिकार भएको भन्दै यसमा सबैले अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन भयो भएन भनेर ख्याल राख्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्थानीय तहले निमार्ण गर्ने भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिले सरकारी सेवा प्राप्त गर्न सकस भएको विषयलाई इन्सेकले सरोकारवालाहरूबिच  उठान गरेको छ ।

समीक्षा कार्यक्रममा प्रदेश १, का प्रदेशसभा सदस्य पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला बार एसोसियसनका अध्यक्ष कुलप्रसाद फुयल, पूर्व नगर प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मकारुङ, सरकारका प्रतिनिधि, अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।

तारानाथ फुयल