नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सिलगढीमा कात्तिक २९ गते सम्पन्न गरिएको छ ।
पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बासुदेव जोशीले सन २०१८ मा सङ्कलन गरेका १० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए ।

प्रस्तुत घटनाहरूमा बलात्कारका पाँच, बलात्कार प्रयासका दुई, नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका तीन ओटा गरी जम्मा १० ओटा घटना रहेका छन् ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मानव अधिकारको परिभाषा व्यापक भएकाले कुन घटना मानव अधिकारसँग सम्बन्ध राख्दछ वा राख्दैन भनेर छुट्याउन समस्या भए पनि राज्य र यसका निकायहरू नै मानव अधिकार संरक्षण कर्ता भएकाले यी निकायबाट हुन गएका घटनाहरूलाई अभिलेखीकरण गर्न आवश्यक भएको बताए ।

उनले इन्सेकले प्रस्तुत गरेका घटनाहरू प्रतिनिधिमूलक भएको र जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन गर्नका लागि स्थानीय सरकारहरूसँग पनि समन्वय गर्न इन्सेकलाई सुझाव दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लालबहादुर धामीले विगतका वर्ष भन्दा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनाहरूमा कमी आएको बताउँदै आगामी दिनमा पनि घटनाहरूमा कमी ल्याउन प्रहरी थप सक्रिय हुने बताए ।

सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रलले पीडितहरूले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दर्ता गराए पनि उनीहरूमाथी दबाब आउने गरेकाले दर्ता भएका घटनाहरू समेत फिर्ता लिने गरिएको बताए ।

सहायक महिला विकास निरीक्षक नुरमाया लिम्वुले समाजमा हुने गरेका घटना निर्मुल गर्ने दायित्व सबैको भएकाले यसका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउँदै आफूले इन्सेकले फलोअपका लागि पठाएका घटनामा सहयोग गर्ने बताइन् ।

जिल्ला समन्वय समितिका सदस्य तुलछा साउद बुढाले राजनीतिक पुर्वाग्रहका कारण पीडितले न्याय नपाउने र दोषीलाई सजाय हुन नसकेकोले उपरान्त सबैले सत्यतथ्यका आधारमा पीडक पक्षलाई कारवाहीका लागि पहल गर्नु पर्ने बताइन् ।

जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले शिक्षा क्षेत्रमा भएका समस्या र चुनौतीहरूलाई पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्ने धारणा राखेका थिए ।

पत्रकार रामहरी ओझाले विगत वर्ष झैँ आगामी दिनमा पनि इन्सेकले मानव अधिकारको प्रवर्धनका लागि निरन्तर लागि रहनु पर्ने बताए ।
बासुदेव जोशी