नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा

  ०७८ पुस ५ गते

इन्सेक गुल्मीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस १ गते सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले सन् २०२२ मा  जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महिलाको हत्या दुई, बलात्कार तथा बलात्कार प्रयासका १६, घरेलु हिंसाका ४२, सम्पत्ति क्षतिका तीन गरी ५८ जना पीडित भएको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सहायक पमुख जिल्ला अधिकारी हरि गैरेले मानव अधिकार वर्ष पुस्तकमा राखिएका विषय वस्तुहरू समय अनुसार परिमार्जन गर्नु पर्नेमा जोड दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय एसपी गोपालचन्द्र भट्टराईले प्रहरीले दिने सेवा मानव अधिकारमैत्री बन्दै गएको महसुश भएको इन्सेक प्रतिवेदनबाट पुष्टि भएको प्रतिक्रिया दिनुभयो । ‘केहि समय पहिलेसम्म मानव अधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूका प्रतिवेदन प्रहरी प्रशासनलाई मात्रै आलोचना गरेर बनाइन्थ्यो, ‘समय र परिस्थीति अनुसार प्रहरी प्रशासन र मानव अधिकारका बिषयवस्तु परिवर्तन हुँदै गएका छन् ।’ भट्टराईले  भन्नु भयो ।

जिल्ला कारागार निमित्त प्रमुख रेश्मीराज पन्थीले कारागारका समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले इन्सेकले वर्षौसम्म कारागारका समस्या उठाउँदै आएपनि सम्बन्धित निकायबाट कुनै पहल नभएकोप्रति दुख व्यक्त गर्नुभयो ।

नेपाल बार एशोसियसन गुल्मीका अध्यक्ष गोपाल खनालले विधि विज्ञान प्रयोगशालाबाट रिर्पोट आउन ढिला भएका कारण कैदी बन्दीका मुद्दा समयमै टुङ्गो लाग्न नसकेको बताउनु भयो ।

टोपलाल अर्याल