नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व वार्षिक समीक्षा सदरमुकाम मङ्गलसेनमा कात्तिक २० गते सम्पन्न भएको छ ।

अछाम–२ का सङ्घीय सांसद यज्ञबहादुर बोगटीको प्रमुख आथित्यतामा सम्पन्न पुर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाले सन् २०१८ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २० ओटा घटना प्रस्तुत गरेका थिए । जसमा बलात्कारका नौ, बलात्कार प्रयास एक, कर्तव्य ज्यान, घरेलु हिंसा, कुटपिट गालीगलौजका दुई/दुई, महिला हिंसा, दुव्र्यवहार, एसिड खुवाएको र छाउपडी गोठमा मृत्यु एक÷एक घटना इन्सेकमा अभिलेख गरिएको छ ।

सांसद बोगटीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको वास्तविक अवस्था देखाएको भनाइ राखे ।

मानव अधिकार प्रत्याभूतमा एक व्यक्ति मात्र नभइ सबै पक्षले सजग बन्नु पर्ने भन्दै कानुनमा सबैको पहुँच हुनुपर्नेमा जोड दिए । “सङ्घीय, प्रादेशिक र स्थानीय कानुन कतिपय बने र अझै बन्ने क्रममा छन् । कानुन बनेर मात्र हुँदैन । पालना र कार्यान्वयन पनि उत्तिकै आवश्यक हुन्छ ।”–सांसद बोगटीले भने ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र कता गइरहेको छ ? भन्ने प्रष्ट भएको बताए ।

केही घटना पहिले दर्ता गर्न र पछि फिर्ता गर्न ‘भनसुन’ले समस्या हुने गरेको भनाइ राखे । जिल्लामा मानव अधिकारको प्रत्याभूतको निमित्त सुरक्षाको काममा तदारुकताका साथमा काम गरिरहेको उनको भनाई छ ।

नेकपाका जिल्ला कार्यदलका सदस्य चन्द्र बोहराले कानुनी राज्यमा मात्र मानव अधिकारको प्रत्याभूत हुने भन्दै घटनाको सङ्ख्या कम गरेर इन्सकेको वर्ष पुस्तक पातलो बनाउनु पर्ने भनाइ राखे ।

“हाम्रो प्रवृत्ति गलत भएमा घटनाको प्रकृति फरक हुन्छ र दोषीले दण्ड पाउँदैन ।”–महिला अधिकारकर्मी विन्दु रावलले भनिन् । महिलाका घटना बढी भएको भन्दै अनुसन्धानलाई गहन बनाउन उनको सुझाव छ । अधिकारकर्मी मदनबहादुर कुँवरले अन्तिम पीडामा मात्र महिला न्यायका लागि आउने गरेको यथार्थता रहेको बताए ।

photo20181107achham (1)

photo20181107achham (2)

photo20181107achham (3)

photo20181107achham (4)

photo20181107achham (5)

शिवराज ढुङ्गाना