नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि वार्षिक पूर्व समीक्षा सम्पन्न

  ०७८ मङ्सिर २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ ।

मङ्सिर २३ गते आयोजित कार्यक्रममा इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टले ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर २२ गते सम्म अभिलेखीकरण गरेका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा गरिएको छ ।

भोजपुरमा ११ महिनाको अवधिमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका ८३ ओटा घटना अभिलेख गरिएको छ । जसमध्ये हत्याका दुई, घरेलु हिंसाका ५३, महिला तथा बालिका बलात्कारका १२, बलात्कार प्रयासका तीन, बहुविवाहका दुई र कुटपिटका ११ ओटा घटना छन् ।

समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति सभापति लक्ष्मण खड्काले जिल्लामा पछिल्लो समय महिला र बालबालिका हिंसामा बढी परेको बताउनु भयो । उहाँले वैदेशिक रोजगार तथा सामाजिक सञ्जालका कारण हिंसाका घटना बढेकाले त्यसको नियन्त्रणमा सबै एकजुट हुने पर्नेमा जोड दिनु भयो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत रामप्रसाद दाहालले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मात्र मानव अधिकारको रक्षा हुने बताउनु भयो ।

इन्सेकले जिल्लामा हुने मानव अधिकारसँग जोडिएका घटनाहरूलाई अभिलेखीकरण गरी राज्यलाई मानव अधिकार रक्षाका लागि दबाब सिर्जना गरेको अधिकारकर्मी दीपा शर्माले बताउनु भयो ।

समीक्षा कार्यक्रममा पत्रकार,मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Photo 20211209 Dhankuta (1)

Photo 20211209 Dhankuta (2)

गणेश विष्ट