नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा कात्तिक २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

photo20181107terhathum

मानव अधिकार हनन्का घटना सार्वजनिक कार्यक्रमका जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुङ्गानाले जिल्लामा महिला हिंसा र बलत्कारसम्बन्धी घटनाको सङ्ख्या बढ्नु दुःखद् भएको बताएका छन् ।

उनले स्थानीय जनप्रतिनिधिहरू आएपछि मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण हुनुपर्ने भएपनि जिल्लामा बलात्कारका घटना बढ्नुले समाज कुन दिशामा अगाडि बढिरहेको छ भन्ने छर्लङ्ग देखिने धारण राखे ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जिल्लामा अझै पनि महिलाहरू सुरक्षित हुन नसक्नुले पीडित महिलाको सङ्ख्या बढेको धारणा राखिन् । उनले महिलाहरू सुरक्षित रूपमा हिँडडुल गर्नका लागि अझै समस्या हुनु भनेको जिल्लाकै लागि चुनौती भएको बताइन् ।

कार्यक्रममा इन्सेक तेह्रथुमका जिल्ला प्रतिनिधि भगिश्वर लिम्बुले अधिकांश ज्यादतीका घटना गैरराज्य पक्षबाट भएको घटना सार्वजनिक गरेका छन् ।

समीक्षा कार्यक्रममा सन् २०१८ जनवरी १ देखि नोभेम्बर ५ सम्ममा हत्या १, कुटपिट ४, बलात्कार, बलात्कार प्रयासका १०, घरेलु हिंसा ४ लगायतका घटना सार्वजनिक गरिएको छ ।

यसैबिच इन्सेकले हिंसापीडित कोषबाट नगद २ हजार रुपियाँ बलात्कार घटनाबाट पीडित १७ वर्षीया बालिकालाई प्रदान गरिएको छ ।

भगिश्वर लिम्बु