नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्ष गोष्ठी सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि नुवाकोटमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस १५ गते सम्पन्न भएको छ ।

nuwakot Yb review news photo (2)पूर्व समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कानुनी सचेतनालेमात्र अधिकारको रक्षा गर्ने भएकोले मानव अधिकारको क्षेत्रका काम गर्ने संस्थाहरूले कानुनी तथा अधिकारको सचेतना फैलाउन भूमिका खेल्नु पर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि स्थानीय प्रशासनको तर्फबाट भने काम गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले स्थानीय सरकारहरूले सामाजिक विकासको क्षेत्रमा लगानी गरेमामात्र त्यसले अधिकारको संरक्षणमा सहयोग पुग्ने भएकोले स्थानीय सरकारले भौतिक विकासमात्र नभई सामाजिक र मानसिक विकासको लागि पनि लगानी गर्नु पर्ने बताउनुभयो ।

nuwakot Yb review news photo (1)कार्यक्रमका अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी तुलबहादुर कार्कीले जिल्लामा घरेलु हिंसाको घटनामा केही कमी आए पनि बलात्कार र बलात्कार प्रयासको घटनामा कमि आउन नसकेको बताउनुभयो ।

उहाँले महिला विरुद्ध हुने हिंसाका घटनाहरू कम गराउनको लागि घटनाको मुख्य कारण पत्ता लगाएर त्यसको न्युनिकरणमा सबैको ध्यान जानु पर्ने बताउनुभयो ।

विदुर नगरपालिकाका प्रवक्ता तथा वडानं. ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले मानव अधिकारको क्षेत्र फराकिलो हुँदै गएकोले इन्सेकले त्यसलाई समेत समेट्दै जानु पर्ने बताउनुभयो ।

प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्टले मानव अधिकारको क्षेत्रले जिल्लामा अलपत्र विकास निर्माणको कारण नागरिकमा परेको असुविधा, असुरक्षाले समेत स्थान पाउनु पर्ने बताउनुभयो । अपाङ्गताको क्षेत्रका काम गर्दै आएका रामशरण थापाले अपाङ्गता परिचय पत्रको वितरणको अधिकार स्थानीय तहमा गएको र स्थानीय तहहरूले कानुनले तोकेअनुसारको परिचयपत्र वितरण व्यवस्थित रुपमा नगर्दा जिल्लामा समस्या भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङघका जिल्ला अध्यक्ष कपिलदेव खनाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष रामकृष्ण राजभण्डारी, माहिला मानव अधिकार रक्षक सञ्जालकी पूर्व अध्यक्ष शर्मिला थापामगर लगायतले पीडित पक्षभन्दा पीडक पक्ष पहुँचवाला र आर्थिकरुपमा पनि सम्पन्न हुँदा पीडितले न्यायको लागि लडाई लड्न नसकेको धारणा राख्नु भएको थियो ।

सन् २०२० मा जिल्लामा बलात्कार, बलात्कार प्रयास, बालयौन दुव्र्यवहार, बहुविवाह, बालविज्याई, आत्महत्या दुरुत्साहन, हत्या, चन्दा कसुर, प्रतिबन्धित नेकपाद्वारा भएको आगजनी लगायतको ३६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको छ ।

नवदीप श्रेष्ठ