नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मनाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर २५ गते सदरमुकाम चामेमा सम्पन्न गरेको छ ।

Photo20171213Manang

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले थोरै जनसङ्ख्या भएको मनाङ जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी आफूमाझ नआएको बताए । यस्तै जिल्ला न्यायाधीश दिपक ढकालले जिल्लामा अपराधिक र व्यक्तिगत लेनदेनका घटना बढी आउने गरेको बताउँदै सामाजिक संरचनाका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रकाशमा नआएको बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख अर्जुन गहतराजले जिल्ला प्रहरी कार्यालयमा यस वर्ष पनि महिला तथा बाल अधिकार घटनाका उजुरीहरू नपरेको बताउँदै सो किसिमका उजुरी परेमा आफूले तत्कालै पीडितलाई न्यायका लागि पहल गर्ने प्रतिक्रिया दिए ।

कार्यक्रममा जिल्लामा बालश्रम बढी मात्रामा रहेको भन्ने विषयमा चर्चा भएको थियो । सो बारेमा महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिले तथ्याङ्क सङ्कलन गरेर बालश्रम न्यूनीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सुरेशकुमार थापा