नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा

जिल्लामा शिशु हत्या, बालबिज्याँई तथा बलात्कारका घटनाप्रति गम्भीर हुनुपर्ने खाँचो औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले इन्सेकको तथ्याङ्कप्रति ध्यानाकर्षण भएको जनाउँदै घटना न्यूनीकरणका लागि सो खाँचो औल्याइएको हो ।

जिल्ला न्यायाधीश प्रकाश राउतले मानव अधिकार हनन् र ज्यादतीका घटना गुपचुप मिलाउने प्रथाको अन्त्यका लागि इन्सेकको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभयो ।

उहाँले मानव अधिकारको वकालतमा स्थानीय तह र अधिकारको क्षेत्रमा क्रियाशील संस्थाबिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

इन्सेकको तथ्याङ्कले जिल्लाको मानव अधिकार अवस्थाको झल्को दिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

इन्सेकले उठाउँदै आएको जीर्ण कारागार र महिला सेफ हाउस निर्माणको विषयमा ध्यानाकर्षण भएको प्रजिअ निरौलाले बताउनुभयो ।

हत्या, हिंसा र बलात्कार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विषयमा इन्सेकले सम्बन्धित पक्षलाई निरन्तर झक्झक्याउने गरेको आफूले पाएको प्रजिअ निरौलाको भनाइ छ ।

कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जिल्लाका नौ ओटै स्थानीय तहले मानव अधिकारको क्षेत्रमा सजग रहनुपर्ने आवश्यकता औँल्याए ।

पीडितलाई न्याय दिलाउनका लागि पीडकलाई कुनै किसिमको साथ र सहयोग नहुने प्रमुख प्याकुरेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

फुङलिङ नगरपालिका–५ की वडाअध्यक्ष भीमादेवी ओझाले मानव अधिकारसँग सम्बन्धित विषयमा इन्सेकसँग सहकार्य गरेर गरेको काममा स्मरण गर्नुभयो ।

सशस्त्र द्वन्द्वदेखि स्थानीय तथा प्रदेश र संघको चुनावमा इन्सेकले खेलेको भूमिकाप्रति उच्च सम्मान गर्दै इन्सेकले सबैको विश्वास जितेको बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि देवराज गुरूङले सन् २०१९ मा संकलन गरिएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका २१ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।

५ देखि १७ वर्ष उमेरका नौ जना बालिका बलात्कारका घटनाबाट र ११ देखि १४ वर्षका तीन जना बालिका यौन दुव्र्यवहारका घटनाबाट पीडित भएको गुरूङले बताउनुभयो ।

२० वर्षदेखि ५२ वर्ष उमेरका तीन जनामाथि बलात्कार प्रयासका घटना भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । जिल्लाका दुर्गम क्षेत्रमा सुत्केरी महिलाको मृत्यु, शिशु हत्या, बालविवाह र बालबिज्याँइको विषय प्रतिवेदनमा समावेश गरिएको छ ।

समान काम, असमान ज्याला,लैङ्गिक विभेद र जातीय छुवाछुत जस्ता अपराध व्यवहारिक रूपमा अन्त्य हुन नसकेको इन्सेकले जनाएको छ ।

photo20191214taplejung (1)

photo20191214taplejung (2)

photo20191214taplejung (3)

photo20191214taplejung (4)

देवराज गुरूङ