नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा विभिन्न जिल्लामा समीक्षा

  ०७३ मङ्सिर ३० गते

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा छलफल गर्न आयोजित प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न भएका छन् ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार आज आयोजित समीक्षा कार्यक्रममा सन् २०१६ मा बागलुङ जिल्लामा घटेका र इन्सेकले अभिलेख गरेका मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू माथि छलफल गरिएको छ ।

photo20161215baglung

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बाग्लुङ जिल्लामा अपराधिक घटनाहरू बढिरहेको र आम नागरिकको सहयोग नभएसम्म अपराधीलाई कानुनी दायरामा ल्याउन नसकिने बताए । पाण्डेले इन्सेकले महिला र बालबालिकाका मात्र नभएर सार्वजनिक अपराधका घटनाहरूलाई पनि मानव अधिकार वर्षपुस्तकमा समावेश गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य विष्णु भुसालले पछिल्लो समय घरेलु हिंसाका घटनाहरू सँगै बलात्कार र बलात्कार प्रयासका घटना पनि बढदै गएका कारण इन्सेकले तथ्याङ्क सङ्कलन मात्र नभएर घटना न्यूनिकरण गराउनको लागि सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

एकीकृत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञामनाथ गैरेले प्रहरी प्रशासनमा दर्ता भएर मिलापत्रमा गएका घटनाहरूलाई उठाउन आवश्क नभएको भन्दैं इन्सेकले गम्भीर घटनाहरू एक वर्षको मात्र नभएर टुङगो नलागुन्जेल फलोअप गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रतिनिधि पन्तले सन् २०१६ मा सङ्कलन गरिएका ५५ ओटा घटनाहरूको समीक्षा गरिएको जानकारी दिइन् ।

इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार स्याङ्जा जिल्लाबाट नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते पुतलीबजारमा सम्पन्न भएको छ ।

photo20161215syanja

कार्यक्रममा नेपाल मानव अधिकार वर्षपुस्तकका लागि सङ्कलित २१ ओटा घटनाहरूको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले पश्चिमाञ्चलको समग्र मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिँदै समाजमा चेतना स्तरको कमी र राजनीतिक अस्थिरताका कारण मानव अधिकार सुरक्षित हुन नसकेको बताए ।

कार्यक्रममा मानव अधिकार जस्तो संवेदनशील मुद्दा उठाएकोमा इन्सेकलाई धन्यवाद दिँदै प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्थीले नेपालमा मानव अधिकारका घटनामा सम्बन्धित निकायमा उजुरी पर्नु भनेको नै समाजमा चेतना स्तरमा बृद्धि भएको मान्न सकिने बताए ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका एसपी देवबहादुर बोगटीले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन प्रतिबद्ध रहेको बताए ।

नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले वर्षेनी प्रकाशन हुने नेपाल मानव अधिकार वर्षपुस्तकको आकार बढ्नुले नेपालको मानव अधिकारको अवस्थालाई सजिलै चित्रण गर्न सकिने बताए ।

अधिवक्ता युग नारायणले सम्बन्ध विच्छेदका घटनाले पनि बालबालिकाको अधिकार हनन् भइरहेको बताउँदै कतिपय घटनामा पीडितलाई प्रभावमा पारी आरोपितले उन्मुक्ति पाउने गरेको बताए ।

इन्सेकले अबका दिनमा सार्वजनिक भएका घटना मात्र नभई समाजमा लुकेर रहेका मानव अधिकार उल्लङ्घनका घटनालाई उजागर गर्नुपर्ने एमाओवादी केन्द्र स्याङजाका इञ्चार्ज पारश शर्माले बताए ।

कानुनी ज्ञानको अभावले पनि समाजमा धेरै घटना हुने देखिएको हुँदा कानुन प्रचारका लागि राज्यले छुटटै पहल गरेमा यस्ता घटनामा न्यूनिकरण हुन सक्ने नेपाली काङ्ग्रेस स्याङजाका सचिव कुमार रानाले बताए ।

छलफलमा बालिका बलात्कारका घटना अन्य घटनाको तुलनामा बढी देखिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार इन्सेकले हरेक वर्षप्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको बारेमा समीक्षा गरिएको छ ।

photo20161215arghakhanchi

कार्यक्रममा जिल्ला प्रतिनिधि भुसालले सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा जिल्लामा भएका मानव अधिकार हनन् तथा ज्यादतीका घटनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेपछि सो प्रतिवेदन माथि छलफल गरिएको हो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले सन् २०१६ को जनवरी देखि डिसेम्वर एक वर्षो अवधिमा जिल्ला हत्याका आठ, बलात्कार तथा बलात्कारको प्रसायका पाँच, बहुविवाहको एक, मानव बेचविखन तथा ओसारपसारका दुई, घरेलु हिंसाका तीन ओटालगायतका घटना अभिलेख गरिएको जानकारी दिए ।

समीक्षा कार्यक्रमका सहायक जिल्ला न्याधिवक्ता निर्मलकुमार पुनले इन्सेकको मेहनतले जिल्लाको सम्पूर्ण मानव अधिकारको अवस्थाबारे सरोकारवालाहरूलाई सचेत गराउने कार्य प्रशंसनीय भएको बताए ।

स्थानीय शान्ति समिति अर्घाखाँचीका सचिव गोविन्द चौधरीले मानव अधिकारकारको संरक्षण गर्ने दायित्व राज्यको भएको र राज्यलाई नागरिक समाज एवम् अधिकारकर्मीले सहयोग गरेमा पीडितलाई न्याय दिलाउन सकिने बताए ।

गैरसरकारी संस्था महासङ्घका सहसचिव फर्शुराम पाण्डेले इन्सेकले घटना प्रधान मात्रै नभई आर्थिक र सामाजिक अधिकारसँगै ग्रामीण स्तरमा पुगी पीडितलाई सहयोग गर्नुपर्ने बताए ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार बेसींशहर नगरपालिकामा मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि अभिलेख गरिएका घटनाहरूको बारेमा छलफल गरिएको छ ।

photo20161215lamjung

जिल्ला प्रतिनिधिद्वारा प्रस्तुत प्रतिवेदन अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म लमजुङमा घटेका मानव अधिकार हनन् तथा ज्यादतीका २४ ओटा घटना समेटिएको छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले मानव अधिकार क्षेत्रमा इन्सेकको भूमिका उल्लेखनीय भएको र इन्सेकले राज्यका निकायलाई खबरदारी गर्ने काम गरेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले घरेलु हिंसाले विकराल रूप लिएका कारण समुदायमा नकारात्मक असर पर्ने बताए । सहभागीले जिल्लामा भएका बलात्कार, कुटपिट, झैझगडा, यौन दुर्व्यवहार मात्र प्रतिवेदनमा समेटिएको भन्दै खाद्य तथा स्वास्थ्य अधिकार, समाजिक, सांस्कृतिक तथा अर्थिक अधिकारलगायतका विषयवस्तुलाई समेट्न सुझाव दिएका थिए ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादर घिमिरेले इन्सेकको कामको प्रशंसा गर्दै मानव अधिकारप्रतिको प्रतिबद्धता दोहोर्‍याए ।

photo20161215humla

इन्सेक धनुषाको आयोजनामा मङ्सिर ३० गते जनकपुरमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा एवम् जिल्लाको मानव अधिकार अवस्था विषयमा छलफल कार्यक्रम गरिएको छ ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले सन् २०१६ को जनवरीदेखि हालसम्म जिल्लामा अभिलेख गरिएको १ सय ५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रतिवेदनमा समेटेका छन् ।

photo20161215dhanusha

प्रतिवेदनमा हत्याका सात, बलात्कारका १३, बलात्कार प्रयासको एक, अपहरणका दुई, झडपमा घाइते आठ, कथित बोक्सीको आरोपमा दुर्व्यवहार दुई, बहुविवाहका नौ, दाइजोका कारण कुटपिटका आठ, यातनाका दुई, पत्रकारलाई कुटपिटको एक, जातीय विभेद तथा छुवाछुतका दुई र महिला हिंसाका ८८ ओटा लगायतका घटनामा १ सय २० जना पीडित भएको उल्लेख गरिएको छ ।

प्रस्तुत प्रतिवेदन अनुसार राज्य पक्षबाट १४ जना पीडित भएका छन् भने गैरराज्य पक्षबाट १ सय ६ जना पीडित भएका छन् । राज्यबाट पीडित भएका मध्ये झडपको क्रममा प्रहरीले ६ जनालाइ कुटपिट गरेको, दुई जनालाई यातना दिएको र गोली प्रहार गरी दुई जना घाइते भएको, कुटपिटमा दुई जना पीडित भएको जिल्ला प्रतिनिधि रविदासले जनाएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज यादवले सबैको न्यायमा पहुँचको लागि प्रहरीले काम गरेको उल्लेख गर्दै मानव अधिकार बहाल गर्न प्रहरी सदैव तत्पर रहेको बताए ।

महिला मानवअधिकारकर्मी हेमलता सिग्देलले मानव अधिकार उल्लङ्घन तथा हिंसा पीडित महिलाको अवस्था र न्याय पाए नपाएको सम्बन्धमा यस प्रतिवेदनमा समेटिनु पर्ने बताइन् । पत्रकार दिपक मिश्रले मानव अधिकारको स्थितिलाई इन्सेकले उठान गरेर सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु सकारात्मक काम भएको बताए ।

तराइ मधेस लोकतान्त्रिक पार्टीका जिल्ला नेता सञ्जय साहले खाद्य सुरक्षा, शिक्षा तथा स्वास्थ्यलगायतका विषयलाई इन्सेकले उठान गर्नु पर्ने सुझाव दिए । एकीकृत माओवादी केन्द्र सचिवालय सदस्य महादेव यादवले घटनाको सत्य तथ्यको आधार विश्लेषण गर्नुपर्ने, जमीन सबैको बराबर अधिकार, सुशासन, मानव अधिकार प्रत्याभुत हुनु पर्नेमा जोड दिए ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार मङ्सिर ३० गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि अभिलेखित घटनाका सम्बन्धमा पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

photo20161215chitwan

सन् २०१६ मा चितवन जिल्लामा सङ्कलित गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा सरोकारवालाहरूसँग गरिएको छलफलमा समीक्षा गरिएको हो ।

जिल्लामा अभिलेखित मानव अधिकारसँग सम्बन्धित घटना विवरण सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि अधिकारीले सन् २०१६ मा चितवन जिल्लामा ६४ ओटा घटना छन् ।

एक वर्षको अवधिमा चितवनमा बलात्कारका १९, बलात्कार प्रयासका २५, हत्याका ६, अपहरणका तीन, बहुविवाहका चार, मानव बेचविखनका ६ र जातीय भेदभावका एक गरी कुल ६४ ओटा घटना अभिलेख गरिएको अधिकारीले बताए । ६४ ओटा घटनामा २२ जना बालिका पीडित भएका छन् । बलात्कारका घटनामा आठ, यौन दुर्व्यवहार घटनामा १२ र मानव बेचविखनका घटनामा दुई जना बालिका पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले इन्सेक प्रतिनिधिले प्रस्तुत गरेको प्रतिवेदनले मानव अधिकारको अवस्था निकै कहालिलाग्दो देखाएको प्रतिक्रिया दिए ।

कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले इन्सेकले मानव अधिकार अवस्थाबारे वार्षिक रूपमा नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन गरेर राज्य र अन्य सरोकारवालालाई अवगत तथा सचेत गराउने गरेको बताए ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक- २०१७ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व सरोकारवालाहरूसँग छलफल महेन्दनगरमा मङ्सिर ३० गते सम्पन्न गरिएको छ ।

photo20161215kanchanpur

प्रतिवेदन अनुसार कञ्चनपुर जिल्लामा महिला हिंसाका घटनाहरू बढी रहेको देखिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा ७३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । जसमध्ये महिला हिंसाका घटना ५२ ओटा अभिलेख गरिएका छन् ।

कार्यक्रममा उपस्थित सहभागीहरूले तथ्यपरक घटनाहरू सङ्कलन गरिएकोमा धन्यवाद दिनुका साथै घटनाहरूको अभिलेखीकरण गर्दा सत्यतथ्य मा आधारित भएर गर्न सुझाव दिएका थिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी नैनसिंह कार्कीले मानव अधिकार वर्षपुस्तकका लागि सङ्कलन गरिएका घटनाहरूलाई तथ्यपरक बनाउन आवश्यक सूचना दिएर सहयोग गर्ने बताए ।

नागरिक समाज कञ्चनपुरका सहसंयोजक पुनम सिंह चन्दले इन्सेकद्वारा प्रकाशन गरिने मानव अधिकार वर्षपुस्तक मानव अधिकार क्षेत्रको महत्वपूर्ण दस्तावेज भएका कारण मानव अधिकार उल्लङ्घनका सबै घटनाहरू सङ्लन गरिनुपर्ने बताए ।

अनलाइन डेस्क