नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते बाग्लुङमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बाग्लुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका ३० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सरोकारवालामाझ प्रस्तुत गरेकी छन् । जसमध्ये घरेलु हिंसाका २४ वटा, बलात्कारका तीन, बलात्कार प्रयासका तीन वटा घटना रहेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले जिल्लामा महिला हिंसासम्बन्धी घटना बढ्दै आएको भन्दै अधिकांश महिला हिंसासम्बन्धी घटनामा पीडित पक्षले समेत आर्थिक लेनदेनमा मिलापत्र गरी टुङ्ग्याउने परिपाटी जिल्लामा रहेको बताए ।

घटना दर्ता भएपछि पीडित र पीडक पक्षले मिलापत्र गर्दा न्याय दिने निकायलाई पनि चुनौती हुने गरेको उनको भनाई छ ।

उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले राज्यका निकायलाई नागरिकका आर्थिक तथा सामाजिक अधिकार प्रदानको लागि खबरदारी गर्नुपर्ने बताए ।

सिर्जना पन्त