नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०७३ मङ्सिर २९ गते

मध्यमाञ्चल क्षेत्र अन्तर्गतका सर्लाही र सिन्धुपाल्चोक जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही जिल्ला प्रतिनिधि सन्तोष कुमार साहका अनुसार जिल्लामा एक वर्षयता अभिलेख गरिएका मानवअ अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको छ । इन्सेकले जिल्ला सदरमुकाम मलङ्गवामा मङ्सिर २९ गते प्रतिवेदनमार्फत घटनाहरूको बारेमा छलफल गरेको हो ।

photo20161214sarlahi

इन्सेक प्रतिनिधि साहले सार्वजनिक गरेको प्रतिवेदनमा एक वर्षको अवधिमा ६ जनाको हत्या, कथित बोक्सीको आरोपमा एक जनालाई दुर्व्यवहार गरेको र १७ ओटा बलात्कार तथा एउटा महिला बेचखिनको घटना अभिलेख गरेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले इन्सेकले प्रकाशित गर्दै आएको मानव अधिकार वर्षपुस्तकले मानव अधिकार प्रवर्धनमा सहयोग पुगेको बताए । सबै पक्षको समान सहभागिताले मात्रै मानव अधिकार प्रवर्धन हुने प्रमुख जिल्ला अधिकारी कँडेलले उल्लेख गर्दै इन्सेकले मानव अधिकार वर्षपुस्तकको क्षेत्र बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालले सर्लाहीमा महिला हिंसा बढेको र उनीहरूको न्यायका लागि ऐन नै बाधक रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राकेश तण्डुकार, महिला तथा बालबालिका कार्यालयकी अधिकृत रञ्जु रेग्मी, नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष अमन कोइरालालगायतले इन्सेकले जिल्लागत रूपमा मानव अधिकारको क्षेत्रमा गरेको कामको प्रसंशा गरेका थिए ।

यसैगरी सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार इन्सेक सिन्धुपाल्चोकद्वारा मङ्सिर २५ गते पूर्व समीक्षा कार्यक्रमका अतिथि वक्ताहरूले वर्तमान अवस्थामा मानव अधिकारकर्मीहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।

सदरमुकाम चौतारामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष युवराज पुरीले अहिलेको बदलिँदो अवस्थामा मानव अधिकारकर्मीहरूले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा जोड दिनु पर्ने र जिल्लामा सङ्ख्यात्मक हिसावले मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएपनि गाउँ बस्तीमा भएका मानव अधिकारसँग सम्बन्धित घटनाहरू उजागर हुन नसकेको बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम अधिकारीले वर्तमान समयमा दण्डहीनताले प्रश्रय पाएको हुँदा मानव अधिकारकर्मीहरूले उक्त कुरा उजागर गर्नुपर्ने बताए ।

जिल्ला विकास समितिका योजना अधिकृत राजेन्द्रप्रसाद नेपालले मानव अधिकार उल्लङ्घनको न्यूनिकरण गर्न सबैपक्षको सक्रिय सहभागिता हुनुपर्ने बताए ।

साहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालले अघिल्लो वर्ष र यो वर्षको मानव अधिकारका घटनाहरू तुलना गरेपछि मात्र मानव अधिकारका घटनामा न्यूनिकरण भए नभएको बुझ्न सकिने बताए ।

कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि धितालले सन् २०१६ भरी अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू मध्ये व्यक्तिगत हत्याका चार ओटा, बालअधिकारका सातमध्ये बलात्कारका ६ ओटा र यौन दुर्व्यवहारको एउटा घटना प्रस्तुत गरेका थिए । त्यसैगरी महिला अधिकारसँग सम्बन्धीत १४ ओटा घटनामध्ये मानव बेचविखनको एक, बहुविवाहका पाँच ओटा, कथित बोक्सीको आरोपमा दुर्व्यवहारका दुई ओटा र कुटपिट तथा कुटपिट गरी घरनिकाला गरिएका तीन ओटा घटना र बम विस्फोटको एउटा घटना अभिलेख गरिएाको धितालले बताए ।

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय