नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते फिदिममा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सन् २०१७ भरी सङ्कलन गरिएका घटनाहरू समावेश गरिएका छन् । सङ्कलित घटनामध्ये, नागरिक तथा राजनीतिक अधिकारका दुई, बाल अधिकारका १२ र महिला अधिकारका १५ ओटा घटना समावेश छन् ।

Photo20171231Panchthar

कार्यक्रममा पूर्व स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले समुदायको प्रथा जनित कानुनले गर्दा राज्यका निकायसम्म उजुरीहरू पुग्न नसकेको बताए । जिल्ला समन्वय समितिका प्रमुख विमल सापकोटाले मानव अधिकारको क्षेत्रमा इन्सेकले तयार पारेको प्रतिवेदनमा तथ्यमा आधारित रहेको पाएको बताए ।

यसैगरी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी गुरागाई खतिवडाले प्रतिवेदनमा जिल्लाको मानव अधिकारको अवस्था झल्काएको र सुधार गर्नु पर्ने सवालमा सबैले एकजुट भएर काम गर्नु पर्ने आवश्यकता औँल्याए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले मानव अधिकारको संरक्षणमा नेपाल प्रहरी प्रतिबद्ध रहेको र जनशक्ति अभावले गर्दा समुदायको अपेक्षा अनुसार प्रहरीलाई काम गर्न कठिनाई भएको बताए ।

Photo20171231Panchthar1

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति नरेन्द्रकुमार केरूङ र नेकपा एमालेका अध्यक्ष राजकुमार भण्डारीले इन्सेकको कार्यक्रम स्थानीय तहसम्म लैजानु पर्ने बताए ।

अब मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्नका लागि आवश्यक वजेटको व्यवस्था गर्न स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरूलाई जिम्मेवार बनाउनुपर्नेमा नेताद्वयको जोड थियो ।

यसैगरी, महिला तथा बालबालिका कार्यालयकी अधिकृत निर्मला मिश्रले सचेतनाका कार्यक्रम निरन्तर गर्नु पर्नेमा जोड दिए ।

सञ्चारिका समूहकी अध्यक्ष शान्ति राईले हिंसा पीडित महिलाहरूको दिगो जिविकोपार्जनका लागि प्रभावकारी योजना नबनेकाले समस्या भएको बताइन् । अधिवक्ता टिका तिम्सिनाले आर्थिक सामाजिक सांस्कृतिक सवालहरू समेत प्रतिवेदनमा समेट्नु पर्ने बताए ।

मङ्गल बेघा