नेपाल मानवअधिकार वर्षपुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न

  ०८१ असार १० गते

नेपाल मानवअधिकार वर्षपुस्तक २०२५ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार १० गते नवलपुरको कावासोतीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२४ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानवअधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

इन्सेकको अभिलेख अनुसार नवलपरासी पूवर्मा सन् २०२४ को जनवरी देखि जुन सम्मको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका  २० ओटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधि पंगेनीले जानकारी गराउनुभयो । जसमध्ये सबैभन्दा बढी बलात्कारका घटना अभिलेख गरिएको उहाँले जानकारी दिनुभयो । यस अवधिमा अभिलेख गरिएका सबै घटनामा सबै  गैर राज्य पक्षबाट पीडित भएका छन् । जसमध्ये हत्याको एक ओटा, कुटपिटको दुई ओटा, बलात्कार र यौन दुर्व्यवहारको १३ ओटा घटनामा आठ जना बालिका बलात्कार र  दुई जना यौन दुर्व्यवहारबाट पीडित भएका छन् । महिला विरुद्धका हिंसामा घरेलु हिंसाका दुई ओटा र बहुविवाहका दुई ओटा घटना अभिलेख गरिएको पंगेनीले बताउनुभयो । जिल्लामा बलात्कार र यौन हिंसाका घटना बढि भएको छ । त्यसमापनि परिवारकै सदस्यबाट यौन हिंसामा परेका जघन्य प्रकृतिका घटनाहरु भएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्सालले इन्सेकले अभिलेख गरेको घटनाहरुले समुदायमा अझै पनि महिला र बालबाहिकाहरु नै बढी प्रभावित छन् भन्ने देखिएको बताउदै यस्ता घटनाको न्यूनीकरण गर्न र समाजमा हुन नदिन सबै एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले बालिका माथि हुने यौन दुर्व्यवहारका घटनाहरु  बढ्नु भनेको चिन्ताको विषय रहेकोले यस्ता घटनाहरुको रोकथामका लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष दिपक भट्टराईले  महिला र बालबालिका माथि हुने हिंसा डरलाग्दो देखिएकोले यसतर्फ सबै सचेत हुन जरुरी रहेको औल्याउनुभयो । देवचुली नगरपालिकामा बालिका माथि हिंसाको घटना बढी देखिएको र उक्त पालिका गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका भएको हुँदा यो गम्भिर विषय बनेको उहाँले बताउनुभयो । उक्त पालिकामा रहेका सरोकारवाला निकाय र पालिकाले आफैँ पनि यस्ता घटना हुन नदिन अभियान नै सञ्चालन गर्नुपर्ने उहाँले सुझाव राख्नुभयो ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले मानवअधिकार उल्लङ्घनको घटनाहरू अभिलेख गर्दै जिल्लामा मानवअधिकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन मद्दत गर्दै आएको बताउनुभयो ।  इन्सेकले गरेको अभिलेखबाट जिल्लामा मानव बालबालिकाहरु बढी हिंसामा परेको देखिएकोले मानवअधिकारको रक्षाका लागि काम गर्ने सङ्घ संस्थाहरूले एक आपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपालपत्रकार महासंघ नवलपुर, जागृती बाल तथा युवा सरोकार, नगर युवा सञ्जाल, नगर बाल सञ्जाल, मानवअधिकार समूहका प्रमुख प्रतिनिधि  र पत्रकारहरूको सहभागिता रहेको थियो ।

photo4081310nawalpur

photo1 081310nawalpur

pohoto2081310nawalpur

photo3081310nawalpur

ज्ञानु पंगेनी