नेपालको संविधान र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्मपन्न

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडौँ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सयपत्री समाजको आयोजनामा नेपालको संविधान  र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा पुस २७ गते सम्पन्न भएको छ ।

कार्यक्रममा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याखुरेलले नेपालको संविधानको कार्यान्वयन र चुनौतीको विषयमा प्रस्तुती गर्नुभएको थियो । उहाँले नेपाल लोकतान्त्रिक गणतन्त्र मुलुक रहेकोले नागरिकले धेरै अधिकारहरु पाएको बताउनुभयो । तर राज्यप्रणाली निकै कमजोर हुदाँ संविधान कार्यान्वयनको पाटो अझै पनि आम जनताले चाहे अनुरुप बन्न नसकेको बताउनुभयो । उहाँले बाह्य हस्तक्षेपले गर्दा नेपालको सविधान खतरामा रहेको बताउदै आम नागरिक एक ठाउँमा आएर सरकारलाई झक्झक्याएर राजनिति सच्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार लेखक तथा समीक्षक कनकमणि दिक्षितले बाह्य हस्तक्षेपले नेपालको संविधान तथा लोकतन्त्रमाथि धावा बोल्दै गर्दा नेपालको सार्वभौमिकता खतरामा रहेको बताउनुभयो । उहाँले नेपालको राजनिति ओरालो लाग्दो भएपनि नेपाल अरु मुलुक भन्दा स्वतन्त्र र जनताले स्वतन्त्रतापूर्वक बोल्न पाउने देश भने नेपालनै रहेको बताउनुभयो । उहाँले नेपालको हरेक गतिविधिहरुमा बाह्य देशको हस्तक्षेपले नेपालको लागि खतरा भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको मुख्य चुनौती भनेकोनै संविधान खारेज हुने अवस्था आउन सक्नु रहेको बताउनुभयो ।

नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले सरकारले संसद विरोधी गतिविधि गर्ने हरु प्रति कारबाही नभएको प्रश्न गनुभयो । उहाँले जनताका आधारभूत कुराहरु पुरा गर्ने जिम्मेवारी सरकारको भएतापनि पुरा हुन नसकेकोमा दुख व्यक्त गनुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष मान बहादुर गुरुङले निर्वाचन प्रणाली समानुपातिक भएर संविधान कार्यान्वयन गर्न चुनौती भएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा संविधान नचलाउनुनै उचित हुने बताउनुभयो ।

त्यस्तै माओवादीको तर्फबाट  बिनय थापाले नेपालको संविधान पहिलो पटक नेपालको सार्वभौम जनताले जारी गरेको संविधान रहेको बताउनुभयो । उहाँले सविधान भनेको समय र आवश्यकता अनुरुप बदलिदै जाने बताउनुभयो । उहाँले सबै पार्टीहरु तथा नागरिक समाजले साझा राष्ट्रप्रति एउटै धारणा राखेर आगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

प्राध्यापक विश्वकल्याण पराजुलीले नेपाल दुई ठुला देशहरुको बिचमा परेर संकटमा परेको बताउनुभयो । उहाँले देशमा समावेशी नाममा मात्र सिमित रहेकोले यसको सहि ठाउँमा प्रयोग नभएकोले समस्या भएको बताउनुभयो ।

कार्यक्रममा राजनितिक पार्टीका प्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले आ आफ्नो धारणा राख्नुभएका थियो ।

418958713_10219680904812937_8223584958807009717_n

419083179_10219680905932965_4617942467418834632_n419074793_10219680905612957_4613452152531268425_n

सन्जय रानाभाट