नेतृत्व विकास तालिम सम्पन्न

  ०७३ पुस २७ गते

मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

photo20170111banke

स्थानीयस्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्य र सहजकर्ता तथा निगरानी समूहका पदाधिकारीलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा जानकार गराउने अपेक्षाका साथ तालिमको आयोजना गरिएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक सरस्वती मल्लले बताइन् ।

तालिममा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार एवम् वकालतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक मुरारी खरेल, कृषि नीति र कृषि कार्यालयले दिने सेवा सुविधाका विषयमा कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत, सरकारको स्वास्थ्य नीति र जिल्ला जनस्वास्थ्य कार्यालयको भूमिकामा जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्का, शिक्षा नीति र जिल्ला शिक्षा कार्यालयको भूमिकाको विषयमा सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापा, विकास, सुशासन, पारदर्शीता र जवाफदेहीताका विषयमा जिविसका वरिष्ठ अधिकृत शरद पौडेललगायतले सहजीकरण गरेका थिए ।

तालिममा इएलपी परियोजनाका दाङ, बाँके, बर्दिया, दैलेख, सुर्खेत र कियोस परियोजना अन्तर्गत बाँके जिल्लाका ३४ जना सहभागी रहेका थिए ।

विनोद पाण्डे