नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न

  ०७९ असार ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालाले हाम्रो समाजमा नेता भनेको राजनीतिक गर्ने व्यक्ति मात्र नेता हुन अरु नेता बन्न सक्दैनन् भन्ने जुन चिन्तन छ त्यसलाई अन्त्य गरी जो कोही नेता हो र नेता बन्न सक्छ । नेतामा हुनुपर्ने गुण र शैलीको विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न सहभागिहरूलाई अनुरोध गर्दै प्रजिअ रिजालले सरकारको पहुँचमा नरहेका नागरिकहरूको आवाजलाई सरकारसम्म पु¥याउन मानव अधिकार रक्षकले सहयोग गर्नुपर्ने सुझाव दिनु भएको छ ।

अन्यायमा परेका पीडितलाई न्यायिक प्रकृयामा पु¥याउन मानव अधिकार रक्षकले सहयोग गर्नुपर्ने बताउँदै तालिममा सिकेका ज्ञानको आधारमा समाजमा नमुनायोग्य नेतृत्व र पैरवी गर्न प्रजिअ रिजालले सहभागिलाई शुभकामना दिनु भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले स्थानीय तहमा रहेका मानव अधिकारका सवाललाई समयमा सही तरिकाले पैरवी गर्नसके अधिकांश समस्या स्थानीय तहबाट समाधान हुने बताउनु भयो ।

तालिम असार २९ गतेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको थियो । तालिमको समापन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले असल नेतृत्वले घर, समाज र देश राम्रोसँग अगाडि बढाउन सक्ने बताउँदै सहभागिलाई असल नेतृत्व गर्नुपर्नेमा जोड दिनु भयो । समुदायमा धेरै समस्या हुनसक्ने बताउँदै समस्याको प्राथमिकीकरण गरी समुदायका साझा सवालमा पैरवी गर्न सहभागिलाई संयोजक सुवेदीले सुझाव दिनु भयो ।

इन्सेकले स्थापनाकालमा ठेला मजदुर, त्यसपछि कमैया मुक्ति अभियान, महिलाको राजनीतिमा सहभागिता, श्रमिकको ज्याला दर निर्धारण, संकटकाल र मानव अधिकार, शान्ति र लोकतन्त्र लगायतका विषयमा पैरवी गरेको संयोजक सुवेदीले जानकारी गराउनु भयो ।

दैलेख र सुर्खेतका पालिका तहका २८ जना मानव अधिकार रक्षक तालिममा सहभागि रहेका थिए ।

तालिममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापक डा. अर्जुनबहादुर ऐडी, एसओएस वालग्रामका प्रिन्सिपल हरिहर बस्नेत, इन्सेक सुदुरपश्चिम प्रदेशका संयोजक खड्कराज जोसी, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, कार्यक्रम संयोजक किरण पौडेल र कार्यक्रम अधिकृत परिस्कृत पौडेलले इन्सेक अभियान, नेतृत्व र नेतृत्व शैली सम्बन्धी आधारभूत अवधारणा, सामाजिक संरचना र नेतृत्वको सामाजिकीकरण, प्रभावकारी नेतृत्वमा हुनुपर्ने गुणहरू, समय, तनाव तथा द्वन्द्व व्यवस्थापन, प्रभावकारी नेतृत्वमा हुनु पर्ने गुणहरू लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

Photosurkhet20220715

PhotoSurkhet2022-0715 (2) PhotoSurkhet2022-0715 (3) PhotoSurkhet2022-0715 (4) PhotoSurkhet2022-0715 (1)
Photosurkhet20220715 (1) Photosurkhet20220715 (2)

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत