निर्वाचन पूर्वको आचारसंहिता बारेमा अनुगमन

  ०७९ कात्तिक २५ गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले इनरूवामा सरोकारवालाहरूसँग निर्वाचन पूर्व अवस्थाका बारेमा अनुगमन गरेको छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र केन्द्रीय कार्यालयका कृष्ण गौतमसहितको टोलीले कात्तिक २५ गते गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला, सञ्चारकर्मी र अधिकारकर्मीसँग छलफल गर्नु भएको छ ।

निर्वाचन पूर्वको अवस्थामा निर्वाचन अचारसंहिता पालना भएको वा नभएको, नागरिकमा उत्साहसहितको बारेमा छलफल गरिएको र जानकारी लिइएको छ ।

छलफलमा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले निर्वाचनलाई पूर्ण भयरहित, स्वच्छ र निश्पक्ष ढङ्गले नागरिकको मताधिकारको प्रयोग सुनिश्चित गर्नुपर्ने बताउनु भयो । मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा जिल्लामा निर्वाचनको तयारी, निश्पक्ष र भयरहित वातावरणमा नागरिकले मताधिकारको अधिकारको प्रयोग, अचारसंहिताको पालना लगायतका विषयमा इन्सेकले जिल्लामा सरोकारवालासँग छलफल गरिएको छ ।

सबै नागरिकको मताधिकारको सुनिश्चित प्रयोगका लागि निर्वाचन आयोग र सरकारी निकायलाई आग्रह गरेको समेत प्याकुरेलले बताउनुभयो ।

इन्सेक केन्द्रीय कार्यालयको निर्वाचन अनुगमन टोलीले कात्तिक २५ गते जिल्लास्थित गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष मेघराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका विनिता दाहाल, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी सरीता कार्की घिमिरे, कमला खत्वे, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष अजितकुमार झा, नागरिक समाजका अगुवा एवम् प्रधानाध्यापक नारायण मेहतालगायतसँग भेट गरी निर्वाचन पूर्वको अवस्थाका विषयमा जानकारी लिएको छ ।

छलफलमा गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष मेघराज न्यौपानेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरू घरदैलो र प्रचारप्रसारमा रहेको तथा सरकारी तबरबाट सम्पूर्ण तयारीहरू पूरा भइसकेको र शान्ति सुरक्षामा झण्डै पाँच हजार सुरक्षाकर्मी परिचालन भएको अवस्था रहेको अनुगमन टोली समक्ष बताउनुभयो ।

न्यौपानेले जानीनजानी सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अचारसंहिता उल्लङ्घन गरेको गुनासो गर्नुभयो । उम्मेदवारहरूले प्रचारमा दुई ओटा सवारी प्रयोग गर्न पाउनुपर्नेमा २५ बढीसम्म सवारी प्रयोग गरेको, सडक र विद्युतको पोलहरूमा पार्टीको झण्डा जथाभावी राखेको बताउनु भयो । न्यौपानेले जिल्लाका सबै मतदान केन्द्रहरूमा सवारीसाधन पुग्ने भएपनि, महिलामैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरूलाई प्राथमिकताको आधारमा विगतमा मतदान गर्ने व्यवस्था भएपनि कार्यान्वयन नभएकाले त्यसमा सुधार आवश्यक रहेको इन्सेक टोली समक्ष बताउनु भयो ।

छलफलमा इन्सेक संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ ,भयरहित र सफल बनाउनका लागि इन्सेकले देशभर पर्यवेक्षणहरू परिचालन गरेको, चुनाव पूर्व र चुनावका दिन विशेष ढङ्गले पर्यवेक्षण परिचालन गर्ने बताउनुभयो ।

निर्वाचन नजिकिएसँगै जिल्लामा मतदाताहरूलाई प्रभाव पार्ने वा दबाब परे नपरेको र स्वतन्त्र ढङ्गले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि जिल्लामा चुनाव तयारीका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले बताउनुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जालकी बिनिता दाहालले निर्वाचनमा निर्वाचन आयोग गम्भीर रहेको भएपनि अचारसंहिताको पूर्ण पालनमा केही समस्या देखिएको बताउनु भयो ।  केही समस्या भएपनि कुनैपनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आयोगले जारी गरेको आचारसंहिता विपरित काम गरेमा तत्काल स्पष्टीकरण सोध्ने, कारबाही गर्ने गरेको तथा जिल्लामा गम्भीर किसिमको आचारसंहिता विपरित कार्यहरू धेरै नभएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघका सुनसरी कोषाध्यक्ष अजित कुमार झाले निर्वाचन अचारसंहित विपरितको कार्य गर्ने दल र स्वतन्त्रका उम्मेदबारहरूको बीचमा होडबाजी नै चलेको बताउनुभयो । गाउँ–सहरको स्वरुप नै बिग्रनेगरी फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन भएको बताउनुभयो ।

नागरिक समाजका अगुवा एवम् प्रधानाध्यापक नारायाण मेहताले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदानको प्रकृयालाई छोट्याउनुपर्ने, एसएमएसको वा प्रविधिको प्रयोग गरेर मतदान गर्ने व्यवस्था, महिला सहभागीता उम्मेदबार मै ५० प्रतिशतको व्यवस्था गर्नुपर्ने र अचारसंहिताको पूर्ण पालन र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

Photo 20221111 Sunsari (1)

Photo 20221111 Sunsari (2)

Photo 20221111 Sunsari (3)

जयकृष्ण यादव