निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७४ कात्तिक ३० गते निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताए ।

संयोजक थापाले पयवेक्षकहरूले निष्पक्ष भएर काम नगर्दा त्यसले सिङ्गो संस्थामा नै आँच आउने कुरामा सजग गराउँदै निष्पक्ष भएर अनुगमन तथा पर्यवेक्षणको कार्य गर्न आग्रह गरे । उनले पर्यवेक्षकहरूलाई कुनै पनि उम्मेदवारलाई मत माग्न र सामाजिक सञ्जालको दुरूपयोग नगर्न समेत आग्रह गरे ।

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका प्रलेख अधिकृत राजु पासवानले निर्वाचनका विषयमा सहजीकरण गर्दै पर्यवेक्षकहरूले आचारसंहिता अनुसार पर्यवेक्षण गर्नुपर्ने बताए ।

झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिरहा र उदयपुरका ३५ जना पर्यवेक्षकहरूको सहभागिता रहेको अभिमुखीकरणमा निर्वाचनको अभिलेखीकरणका लागि सबै पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका प्रलेख अधिकृत देवराज पोखरेलले बताए ।

निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि पनि मतगणनालगायतको पर्यवेक्षण गर्ने हुँदा निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्न पोखरेलले आग्रह गरे ।

इन्दिरा भट्टराई