निगरानी समूहद्वारा अस्पतालमा खानेपानी व्यवस्थापनको माग

  ०७३ चैत १३ गते

इन्सेकको पहलमा पाल्पा जिल्लामा गठित मानव अधिकार निगरानी समूहले पाल्पा जिल्ला अस्पतालमा खानेपानीको अभावमा बिरामी प्रभावित भएको भन्दै तत्काल पानीको व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको ध्यानाकर्षण गराएको छ ।

Photo20170326Palpa

निगरानी समूहले चैत १३ गते अस्पतालमा पुगेर स्वास्थ्य कार्यालय प्रमुख डा. उमाशङ्करप्रसाद चौधरी र अस्पताल विकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्यसमक्ष लिखित रूपमा ध्यानाकर्षण गराएको हो ।

पाल्पा जिल्ला अस्पतालमा खानेपानी अभावका कारण बिरामीहरूको उपचार सेवा प्रभावित हुँदै आएको छ । 'अस्पताल जस्तो संवेदनशील स्थानमा पानी अभाव हुनु राम्रो विषय होइन । यसकारण तत्काल विकल्प खोजी गरी २४ सै घण्टा आउने गरी पानीको व्यवस्थापन गर्न ध्यानाकर्षा गराउँछौँ ।'-ज्ञापन पत्रमा उल्लेख छ ।

Photo20170326Palpa1

साथै अस्पतालमा दन्त सेवा विशेषज्ञ रहेपनि दन्त सेवा प्रवाहका लागि आवश्यक उपकरण नभएकोले उपचार सेवा प्रभावकारी हुन नसकेको भन्दै मौजुदा विशेषज्ञलाई आवश्यक पर्ने दन्त उपचार उपकरण तत्काल व्यवस्थापन गर्नसमेत ध्यानाकर्षण गराइएको छ ।

जिल्ला अस्पताललाई हरेक उपकरणबाट सुसज्जित गरी भरपर्दो अस्पतालको रूपमा व्यवस्थित गर्न समूहले माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. उमाशङ्करप्रसाद चौधरीले कार्यालयको तर्फबाट अस्पतालमा पानीको व्यवस्थापनमा तत्काल पहल गरिने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्यले अस्पतालमा पानी व्यवस्थापनसहित अन्य उपकरणहरू थप गर्ने प्रतिवद्धता जनाए ।

यज्ञमूर्ति तिमिल्सिना