निगरानी समूहको पहलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मानव अधिकार निगरानी समूहको पहल तथा म्याग्दे गाउँपालिकाको आयोजनामा वैशाख १३ गते म्याग्दे गाउँपालिका-६ स्थित मनपाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

Photo20180427Tanahu (3)

शिविरमा स्वास्थ्य परिक्षण गर्न म्याग्दे गाउँपालिका वडा नम्बर ६ र ७ का सेवाग्राही आएका थिए । म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले स्वास्थ्य नागरिकको मौलिक हक भएको हुँदा नागरिकलाई पायक पर्ने ठाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको बताइन् ।

उनले अन्य वडामा पनि क्रमशः पायक पर्ने स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने बताइन् । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले विशेषज्ञ सेवा लिन सदरमुकाम दमौली वा अन्य शहरमा जानु पार्ने नागरिकको बाध्यता भएको हुँदा घर दैलोमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको बताए ।

Photo20180427Tanahu (2)

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले नागरिकलाई सरकारी स्वास्थ्य संस्थाबाट नै सेवा लिने वातावरण बनाउन शिविर सञ्चालन गरिएको बताए । म्याग्दे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बसन थापाले मानव अधिकार निगरानी समूहको पटकपटकको अनुरोध र स्थानीय बासिन्दाको मागपछि शिविर सञ्चालन गर्ने निर्णय गरिएको बताए ।

शिविरमा १ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई रोग अनुसारको औषधि पनि वितरण गरिएको थियो भने जटिल प्रकारका रोगको थप परीक्षणको लागि सम्बन्धित निकायमा सिफारिससमेत गरिएको गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

शिविरमा पाठेघरको क्यान्सरको ११ जना, दोश्रो डिग्री र तेश्रो डिग्री को आङ खसेको एक/एक जना बिरामीलाई थप परीक्षणको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको थियो भने परिवार नियोजनको सेवातर्फ आईयुसिडि सेवा तीन जना र इम्प्लान्ट सेवा चार जनालाई उपलब्ध गराइएको थियो ।

सो स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालयकी चिकित्सक डक्टर सिर्जना शर्मा, गाउँपालिकाका स्वास्थ्य प्रमुख तिलक घिमिरे, दमौली अस्पतालकी स्टाफनर्स सुकुमेल बराल, मनपाङ स्वास्थ्य चौकीका प्रमुख योगेन्द्रकुमार बमलगायत १० जना स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए ।

प्रकाशचन्द्र भट्टराई