'नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यबाटै समृद्धि'-सरोकारवाला

नागरिक समाज र स्थानीय सरकारसँगको सहकार्यको अवसर र चुनौतिहरू विषयक कार्यशालामा सहभागी स्थानीय सरकारका प्रतिनिधिहरूले नागरिक समाजका संस्था र स्थानीय सरकारहरूसँगको सहकार्यबाट समृद्धिको यात्रामा पुगिने बताएका छन् ।

Photo20171018Okhaldhunga

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक १ गते आयोजना गरेको छलफलमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले गैरसरकारी संस्थाहरूसँग स्थानीय सरकारले सहकार्यबाटै अघि बढ्न चाहेको बताए ।

उनले अब सरकारी र गैरसरकारी निकायकाबिचमा आरोपप्रत्यारोप छोडेर मजबुद सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए । प्रमुख श्रेष्ठले दाताको स्वार्थमा काम गरेर स्थानीय सरकारलाई शङ्का गर्दा सहकार्य प्रभावकारी नहुने भएकाले प्रकृयामा आएर सहकार्य गर्न आग्रह गरे ।

Photo20171018Okhaldhunga1

मोलुङ् गाउँपालिकाका प्रमुख मणिराज राईले विकासका काम गर्ने र पैरवी गर्ने गैरसरकारी संस्थाहरू फरकफरक हुनु पर्ने बताए । सबै काममा हात हालेर लक्ष्यमा नपुगिने भएकाले नागरिक समाजका संस्थाहरूको कामले उसका विषयगत क्षेत्र प्रष्ट हुनुपर्ने बताए । राईले भने-'नागरिक समाजका संस्थाहरू होलसेल पसलहरू जस्तो हुनु हुँदैन ।'

सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले गैरसरकारी संस्थाहरू दर्ता हुने, अध्यावधिक नहुने समस्या रहेको बताउँदै स्थानीय सरकारमा विवरण/तथ्याङ्क हुनुपर्ने बताए । गैससहरूलाई 'डलरवाला' भन्ने आरोप लागे पनि जिल्लामा आन्तरिक आय भएका गैर सरकारी संस्था नभएकाले दाताका भरमा चलेकाहरू मात्रै सक्रिय रहेको बताए ।

नेपाल बार एसोसिएसनका सचिव टुकराज निरौलाले स्थानीय सरकार र नागरिक समाजका संस्थाहरूबिचमा सहकार्य र विश्वास बढे मात्रै कार्यक्रम प्रभावकारी हुने बताए ।

नेपाल पत्रकार महासङ्घका सदस्य पूर्णप्रसाद न्यौपानेले नागरिक समाजका संस्थाहरू बुझेका जनप्रतिनिधिहरूलाई गैरसरकारी संस्थासँग समन्वय गर्न जिम्मेवारी दिँदा सहकार्य र प्रतिफल लिन सकिने भएकाले त्यसतर्फसोच्न सुझाव दिए ।

शिवप्रसाद ढुङ्गाना