नागरिक समाज र सञ्चारजगतबिच सहकार्यसहित सक्रिय हुन आवश्यक

नागरिक समाज र सञ्चार जगत् सहकार्यसहित सक्रिय भएमा सुशासन कायम हुने र जबाफदेहिताको बृद्धि गराउन सकिने सरोकारवालाहरुले बताएका छन् ।

जिल्लामा सबै स्थानीय सरकारहरुलाई  नीतिगत रुपमा सवल, जबाफदेही, पारदर्शी, उत्तरदायी बनाउनको लागि नागरिक संघसंस्था र सञ्चार जगतको सहकार्यको खाँचो अपरिहार्य भएको बताएका हुन् ।

कात्तिक ३ गते विदुरमा इन्सेकको आयोजनामा गरिएको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगत्को सहकार्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा गैरसरकारी संस्था महासंघ ३ नं. प्रदेश समितिको सदस्य देवकी पौडेलले नागरिक संघसंस्था र सञ्चार क्षेत्र मिलेर काम गरेमा धेरै कामहरु हुने र सुशासन कायम गराउन पनि भूमिका खेल्न सकिने बताइन् ।

पछिल्लो समय नागरिक संघसंस्थाका आवाज मलिन हुँदै गएकोले पनि यसलाई सुनिने बनाउनको लागि पनि सञ्चारजगतसँगको सहकार्य अपरिहार्य भएको उनले बताइन् ।

मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य यमकुमार खातीले नागरिक संघसंस्था र सञ्चार जगत् सहकार्यले नागरिक संघसंस्था र सञ्चार माध्यमहरुलाई पारदर्शी र जनताप्रति उत्तरादायी बनाउने बताए ।

उनले नागरिक संगठन र सञ्चार क्षेत्र नै पारदर्शी भएपछि सरकारी निकायलाई पनि सचेत गराउन, नीतिगत सल्लाह दिन र नीति निर्माण गराउन भूमिका प्रभावकारी हुने बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनालले अहिलेसम्म भएका सहकार्यले धेरै काम भएको उहाहरणहरु रहेकोले आगामी दिनमा झनै प्रगाढ सहकार्य हुनु जरुरी रहेको बताए ।

नेपाल नागरिक समाजका जिल्ला सचिव शिव देवकोटाले सञ्चार जगत् र नागरिक समाज एक अर्काका परिपूरक भएकोले सञ्चार जगतको समस्याको बारेमा नागरिक समाजले बोल्नु पर्ने र नागरिक संघसंस्थाका समस्याहरु माथि पनि नागरिक समाजले बोल्नु पर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारलाई सक्षम बनाउन, न्यायिक समितिलाई सक्रिय बनाउने, अनियमितता रोक्न, नागरिक संघसंस्थासँग सहकार्य गराउनको लागि पहल गर्नु पर्नेमा जोड दिएका थिए ।

सहभागीहरुले नागरिक संघसंस्था र सञ्चार जगत्को सहकार्यले नै दुबैको भूमिका फराकिलो हुने बताएका थिए ।

नवदीप श्रेष्ठ