नागरिक समाज र पत्रकारबीच सहकार्यमा जोड

नागरिक समाज र पत्रकारबीचकोे सहकार्यले सामाजिक विकासमा टेवा पुग्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ ले ललितपुरमा असोज २५ गते आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले नागरिक समाज र पत्रकारबीच सहकार्य गर्न सके समस्याको खोजी गरी समाधानको उपाय पत्ता लगाउन सजिलो हुने बताएका छन् ।
कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले नेपालको संविधान अनुसार देशमा तीन तहको सरकार सञ्चालन भइरहेको अवस्थामा कानुन निर्माण हुन नसक्दा कार्यान्वयनमा चुनौती रहेको बताए । उनले नागरिक सङ्गठनको सक्रियाताले सबैलाई जबाफदेही बनाउनु पर्ने खाँचो रहेको औँल्याए ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, ललितपुर शाखाका अध्यक्ष रामहरि घिमिरेले जनसरोकारका विषयमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । सरकारले सहकार्यका नाममा गैरसरकारी संस्था र पत्रकारहरूलाई खुम्च्याउन सक्ने भन्दै उनले चनाखो रहनुपर्नेमा जोड दिए ।
स्वास्थ्य, शिक्षा, कृषि र विपदसम्बन्धी नागरिक सञ्जाल ललितपुरकी संयोजक नन्दा ताम्राकारले विद्यालयमा दण्डरहित शिक्षा दिइए–नदिइएको र स्वास्थ्य सेवा जनतालाई सर्वसुलभ रूपमा उपलब्ध गराए–नगराएको बारेमा नागरिक समाज र पत्रकारहरूले खोजी गर्नु पर्ने उल्लेख गरिन् ।
नेपाल शिक्षक सङ्घ ललितपुरका अध्यक्ष गणेश खनालले नागरिक तथा राजनीतिक आन्दोलनमा सहकार्य गरेका नागरिक समाज र पत्रकारहरूले जनताको आर्थिक, सामाजिक, सांंस्कृतिक परिवर्तनका लागि एकीकृत रूपमा सचेतना जगाउनु पर्ने खाँचो औँल्याए ।
इन्सेकको पारस्परिक जबाफदेहिता परियोजना संयोजक श्रीराम बजगाईले राज्य संयन्त्रलाई कानुनी र नीतिगत रूपमा जबाफदेही बनाउन नागरिक समाज र सञ्चार जगतको साझा प्रयासको खाँचो औँल्याए ।

मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले सकरात्मक सामाजिक रूपान्तरण र विकासका लागि दलीय भावना भन्दा माथि उठेर नागरिक समाज र पत्रकारहरूले भूमिका निभाउनु पर्ने बताए ।

1

photo20181011lalitpur (2)
यसैबीच मानव अधिकार सञ्जाल ललितपुरको पुनर्गठन गरिएको छ । असोज २५ गते जिल्ला पशु सेवा कार्यालयको सभाहलमा भएको भेलाले वशिष्ठ अधिकारीको अध्यक्षतामा सञ्जालको पुनर्गठन गरेको हो ।

भेलाले उपाध्यक्ष दीपना शर्मा, सचिव दपिकप्रसाद घिमिरे, कोषाध्यक्ष पूर्णबहादुर महर्जनलाई चयन गरेको छ । सदस्यहरुमा बिमला घिमिरे, चरसुन्दर महर्जन, कल्पना नेपाली, दिपेन्द्र चौलागाई, प्रल्हाद कुमार महत र माधव नेपाललाई सर्वसम्मत चयन गरेको छ ।

भेलाले गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरे, मानव अधिकार रक्षक बद्रि शिवाकोटी र इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनालाई सल्लाहकारमा चयन गरेको छ ।

photo20181011lalitpur (3)

दीपकप्रसाद घिमिरे