नागरिक समाज पारदर्शी हुनुपर्नेमा जोड

भूकम्पपछि केही गैरसरकारी संस्थाहरूले बेइमानी गरेका कारण नागरिक समाजको भूमिका सकारात्मक बनाउनु पर्नेमा काभ्रे बार एशोसियसनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जोड दिएका छन् ।

नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनका विषयमा भदौ ११ गते धुलिखेलमा भएको नागरिक समाजका अगुवाहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । एक/दुई ओटा संस्थाहरूको भूमिकालाई लिएर 'सबै उस्तै भन्ने दाग लागेको' उनको भनाई थियो ।

गैसस महासङ्घका उपाध्यक्ष टोम सापकोटाले संस्थाहरूको प्रशासनिक खर्च बाहेक भौतिक पुर्वाधार र सचेतनामूलक काममा प्रतिशत भनिने गरेकाले केही समस्याहरू आएको बताए । 'राज्य अप्ठ्यारोमा रहेको अवस्थामा गैससहरूको भूमिकालाई महत्वपूर्ण ठान्ने तर तिनै गैससलाई दुःख दिने राज्यको नीति सरकारात्मक छैन ।'-उनले भने । सुन व्यापारीदेखि नून व्यवसायीसम्म संस्था दर्ता ऐन अन्तर्गत दर्ता गरेर सङ्घ-संस्थाहरूको भूमिकालाई कमजोर बनाएको सापकोटाले थपे ।

संस्थाहरूमा आन्तरिक प्रजातन्त्र कमजोर रहेको बताउँदै नेपाल पत्रकार महासङ्घका अध्यक्ष मोतिराम तिमल्सिनाले कतिपय संस्थाले धेरै बजेट ल्याएर कम देखाउने अनि कतिपयले एकतिरबाट तलब खुवाएर पाँच ओटा परियोजनाको काम लगाएको पाइएको बताए । पत्रकार मधुसुधन गुरागार्इँले संस्था दर्ता धेरै भएपनि क्रियाशील संस्थाको सङ्ख्या कम भएको बताए । अरूलाई औँला ठड्याउने संस्थाहरूले आफैँभित्रको सुशासनलाई ध्यान दिएमा राम्रो हुने उनको भनाई थियो ।

नेपालमा नागरिक समाज सवलीकरण परियोजना अन्तर्गत इन्सेकद्वारा आयोजित कार्यक्रममा नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनका विषयमा तीन ओटा समूहमा छलफल भएको थियो । असल शासन प्रक्रिया र नीतिहरू के-के हुन सक्छन् ?, पारदर्शिता र जबाफदेहिता प्रवर्धनका प्रक्रियाहरू र संस्थाको स्व-मूल्याङ्कनमा निर्दिष्ट भूमिकाहरू के-के हुन सक्छन् ? भनेर समूहमा छलफल र निष्कर्षप्रस्तुती गरिएको थियो ।

भोजराज तिमल्सिना