नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया सम्पन्न

  ०७४ भदौ ११ गते

नागरिक समाजको सवलीकरणमा स्थानीय सरकार सकारात्मक रूपमा आगाडि बढ्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम परियोजना अन्तर्गत भदौ ११ गते इन्सेक भक्तपुरको आयोजनामा सम्पन्न नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय सरकार सञ्चालनमा सुशासन, पारदर्शिता, र जबाफदेहिता बहन गरेर अगाडि बढे नागरिकले आफ्नो हक सहजै पाउनेमा विश्वास व्यक्त गरे ।

अझै पनि स्थानीय तहमा विगत ३० वर्ष अगाडि कै सिस्टम, संस्कार र तरिका रहेकाले सो फेर्नु आफूहरूको चुनौती रहेको चर्चा गर्दै जनताले खोजेको नतिजा दिन स्थानीय निकाय जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले स्थानीय तह तेश्रो तहको सरकार भएकाले यसलाई सवलीकरण बनाएर अगाडि लैजान सबैको सहयोग आवश्यक रहेको औँल्याइन् ।

गैसस महासङ्घ भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले सुशासनमा रहेर राष्ट्रको लागि हित हुने काम गरे अगाडि बढ्न सकिने बताए ।

त्यसैगरी सुर्यविनायक-७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, सुर्यविनायक-९ का वडा अध्यक्ष उपेन्द्र केसी, सुर्यविनायक-१० का वडा अध्यक्ष शिवराम राउतले परिर्वतन आफैँबाट गनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिको छवि राम्रो हुनुपर्ने र स्थानीय तहमा भएका गतिविधिको निगरानी गर्न आग्रह गरे ।

सविना केसी