नागरिक समाजको छवि सुधार्न सबै लाग्नु पर्नेमा जोड

नागरिक समाज र सामाजिक संस्थाको आम रूपमा बिग्रिएको छवि सुधार्नको लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

Photo20170322Ramechhap

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ९ गते मन्थलीमा आयोजना गरेको नागरिक समाजको सकारात्म छवि निर्माणको लागि पहल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो विचार राखेका हुन् ।

कार्यक्रममा बोल्दै काङ्ग्रेसका नेता झपडराज भण्डारीले राजनीतिक दल र संस्थाहरूलाई प्रशस्तै आरोप लाग्ने बताए । जसले काम गर्छ, त्यसका कुरा काट्नेहरू पनि धेरै हुने भएको बताउँदै उनले गलत काम भने गर्न नहुने बताए । केही संस्था र राजनीतिक व्यक्तिको कारण यो क्षेत्र आलोचित भएको उनले उल्लेख गरे ।

नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले कुनै पनि दलमा आबद्ध हुनु व्यक्तिको अधिकार भएकोले त्यसैको अधारमा उसको कामको नकारात्मक टिप्पणी गर्नु गलत हुने बताए । उनले नेपालमा गैरसरकारी संस्थालाई कस्तो काम गर्न दिने भन्ने अधिकार राज्यसँगै भएकोले यदि उनीहरूका काम गलत भए राज्यका निकायले नियन्त्रण गर्नुपर्ने बताए ।

नेकपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य धावा लामाले गैरसरकारी संस्थाले गर्ने काममा पारदर्शिता र जवाफदेहीताको प्रश्न उठेको बताए ।

राप्रपाका उपाध्यक्ष रामचन्द्र कँडेलले नागरिक संस्थाप्रतिको नकारात्मक छवि चिर्न काम गरेर देखाउनु पर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले गैरसरकारी संस्थाहरू सरकारका निकायमा दर्ता भएरै सञ्चालन भएकाले उनीहरूलाई गाली गर्नुको अर्थ नरहेको बताए । कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले गैरसरकारी संस्थाका हरेक कार्यक्रम सरकारी कार्यालयमा नै अनुमोद भएर जाने भएकोले बदमासी हुने ठाउँ त्यति नहुने बताए । तर, अनुगमनको पाटो फितलो हुँदा काममा केही गुनासो आएको उनले बताए ।

गैरसरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष भुवन श्रेष्ठले गैससबाट गलत भएको भए कारबाही सुरु गर्न आग्रह गर्दै त्यसलाई महासङ्घले सहयोग गर्ने बताए ।

नवराज पथिक