नागरिकका पक्षमा आवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्नेमा जोड

नागरिकको पक्षमा निष्पक्ष अवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्ने विचार एक कार्यक्रममा सरोकारवालाले राखेका छन् ।

इन्सेक गोरखाको आयोजनामा चैत ४ गते सम्पन्न 'नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नागरिक समाजलाई प्रभावकारी बनाउन सर्म्पर्क कार्यलय र सञ्जालको समेत आवश्यकता रहेको औँल्याएका छन् ।

photo20170317gorkha (2)

कार्यक्रममा भूकम्पपछिको अवस्थामा नागरिक समाजले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै पीडितका आवाज उठाउन नागरिक समाज एक हुनु जरूरी रहेको सरोकारवालाको निश्कर्ष छ ।

नागरिक समाज एक भई समाजमा सही र गलत छुट्याउँदै आउनु सकारात्मक पक्ष भएको शान्ति समाजका सिताराम तिवारीले बताए । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलगायतका कुनै पनि विशेष अवस्थामा नागरिक समाजको राजनीतिक दल प्रति झुकाव हुन नहुने तिवारीको भनाइ छ ।

photo20170317gorkha (1)

गैरसरकारी संस्था महासङ्घका सिताराम श्रेष्ठले विपद्को समयमा जनतालाई सचेत गराउन नागरिक समाजले महत्वपूर्ण भुमिका खेलेको बताए । श्रेष्ठले आगामी दिनमा सामाजिक र सामूहिक काममा जवाफदेही भएर नागरिक समाज लाग्नुपर्ने सुझाव दिए ।

नियमित भेटघाट र बैठक गर्न सके नागरिक समाजको भूमिका अझै प्रभावकारी हुने काहुराष्टका सचिव किशोर रेग्मीले बताए ।

ग्रामीण तहमा नागरिक समाजको भूमिकाको विषयमा प्रष्ट पार्नुपर्ने ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए ।

हरिराम उप्रेती