दैलेखका दुई स्थानीय तहमा मानव अधिकार समूह गठन

  ०७९ असोज १३ गते

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक नगरप्रमुख बलिराम खड्काले मानव अधिकार प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग सहकार्यमा काम गर्न नगरपालिका इच्छुक रहेको बताउनुभएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतमार्फत असोज ९ गते सम्पन्न मानव अधिकार शिक्षा कार्यक्रमको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख खड्काले नगरपालिकाको सामाजिक न्याय र सचेतनाको काममा इन्सेक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

त्यसबखत चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ९ वटै वडालाई समेटदै मानव अधिकारका सवालमा सवलीकरण गर्न स्थानीय सामाजिक अगुवा बालीराम जैसीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह सर्वसम्मतिबाट गठन भएको छ ।

मानव अधिकार समूहका सदस्यहरूमा महेशकुमार ज्ञवाली, चन्द्रा ज्ञवाली, लक्ष्मी तारामी, मीना नेपाली, मानकुमारी कार्की, रामसरा जैसी, दिपेन्द्र बिक, शोभा भण्डारी, पुष्पा चौलागाई र हर्कबहादुर सावद चयन हुनुभएको छ ।

त्यसैगरी दुल्लू नगरपालिकामा ०७९ असोज ८ गते भएको दुल्लू नगरस्तरीय परियोजना परिचयात्मक कार्यक्रममा दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले समाजमा विद्यमान कुरीति कुसंस्कार हटाउन कानूनी सचेतनालाई बढावा दिनुपर्ने बताउनुभयो ।

इएलपी परियोजनाका मानव अधिकार सवाल प्रवद्र्धन गर्न दुल्लूका स्थानीय सामाजिक अभियन्ता दुर्गे सार्कीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको परियोजना सहजकर्ता कलम नेपालीले जानकारी दिनुभएको छ ।

समूहका सदस्यहरूमा गणेश नेपाली, माया भण्डारी, टेकबहादुर सुजी, भावना नेपाली, निर्मला बिक, टिकाकुमारी बिक, सुशीला योगी, नैनसिंह नेपाली, गीता बिष्ट र पार्वती कसेरा रहनु भएको छ ।

इएलपी परियोजनाका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले चामुण्डाबिन्द्रासैनी नगरपालिका र दुल्लू नगरपालिकामा परियोजनाले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँगै वातावरण अधिकार सवाललाई प्रमुखता दिइएको जानकारी दिनुभएको थियो । उहाँले परियोजनाको परिचय र कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो ।

इन्सेकले ६ वर्ष अघि दैलेखको नारायण नगरपालिका र डुगेश्वर गाउँपालिकामा काम गरेको इएलपी परियोजना यो वर्षदेखि दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नयाँ कार्यक्षेत्रमा जातीय विभेद, लैंगिक हिंसा लगायत मानव अधिकारका सवालमा पैरवी गर्ने कार्ययोजना रहेको छ कार्यक्रम फोकल पर्सन दुर्गा थापाले जानकारी दिनु भएको छ ।

Dailkehphoto20220929 (1) Dailkehphoto20220929 (2) Dailkehphoto20220929 (3)

अमर सुनार