दुधौली नगरपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

  २०८१ जेठ २३

दुधौली नगरपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आयोजना र स्वाधीन खबर पत्रिकाको समन्वय तथा इन्सेकको सहकार्यमा जेठ २२ गते कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले मानव अधिकार नागरिकले प्राप्त गर्नुपर्ने अधिकार भएको बताउँदै सामाजिक न्यायको क्षेत्रमा सुशासन र विकासको बारेमा चेतना जागरुक गर्नका लागि नै कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नगरपालिका प्रमुख अधिकारीले आगामी वर्षमा यस्ता  खालका कार्यक्रमका लागी पालिकाले बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य मातृका भट्टराईले मानव भएपछि पाउने अधिकार नै मानव अधिकार हाे, मानवको जति विकास हुँदै जान्छ त्यतिनै अधिकारहरू पनि फरक फरक तरिकाले थपिदै जाने बताउनु भयो । उहाँले जनप्रतिनिधिले विकासका पूर्वाधारलाई मात्र नभई मानवीय सूचाङ्कको बारेमा पनि अध्ययन गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका डा. कुन्दन अर्यालले सुशासन र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो । डा. अर्यालले स्थानीय तह स्वयम् सरकार भएकोले यसले जनताको न्यूनतम आधारभूत मानव अधिकारको आवश्यकता परिपूर्ति गर्नको लागि बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले जनतालाई आफ्नो अधिकार र कर्तव्यको बारेमा सचेतना फैलाउने कार्यक्रम शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि सुझाव दिनु भयो ।

मानव अधिकार पाँचौ राष्ट्रिय कार्य योजना कार्यान्वयनमा स्थानीय तह स्तरीय संयन्त्र गठनको स्पष्ट व्यवस्था भएकोले सो अनुसारको संयन्त्र गठन सँगै त्यसमा उल्लेख भएका १७ ओटा मानव अधिकारका सूचक कार्यान्वयनमा पालिकाको भूमिका बारे पनि डा. अर्यालले उल्लेख गर्नु भएको थियो ।

त्यस्तैे मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो । अधिकारीले कार्य योजना कार्यान्वयनको अनुगमनको नेतृत्व आयोगले गरेको हुँदा स्थानीय तहले कार्ययोजना कार्यान्वयनको प्रगति विवरण ६/६ महिनामा प्रदेश र आयोगलाई पठाउनु पर्ने व्यवस्था कार्यान्वयन गर्नका लागि नगरपालिकालाई सुझाव समेत दिनु भयो ।

अदालतमा आउने मुद्दालाई मेलमिलाम समिति मार्फत् पनि मुद्दाको चापलाई घटनाउने सर्वोच्च अदालतको व्यवस्थाका सम्बन्धमा मेलमिलाप र स्थानीय न्यायिक समितिको अवस्थाको विषयमा अधिवक्ता प्रेक्षा ओझाले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

इन्सेकका बरिष्ठ अधिकृत सम्झा श्रेष्ठले सङ्घीयता र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले मानव अधिकारका आधारभूत विषय स्थानीय निकायले जनताको घरदैलोमा पुगेर हेर्न सक्ने भएकोले नै मानव अधिकार कार्यायोजना बनाएर सरकारले काम थालेको उल्लेख गर्नु भयो ।

मानव अधिकारमुखी विकास पद्धतिको बारेमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी गराउनु भएको थियो । उहाँले मानव अधिकारमुखी अवधारणामा स्थानीय सरकारले आवश्यकताको आधारमा भन्दा पनि संविधानले व्यवस्था गरेको मौलिक हकले दिएको जनताको अधिकारलाई प्राथमिकतामा राखेर नगरपालिकाले आफ्नो आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा स्वाधीन खबर पत्रिकाका प्रधान सम्पादक रुद्र खड्काले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य मातृका भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, मेलमिलाप कर्ता तथा कर्मचारीहरूको सहभागीता रहेको थियो ।

photo2024060601sindhuli

इन्सेक बागमती प्रदेश कार्यालय, काठमाण्डौँ