दलितलाई दिइएको अधिकार कार्यान्वयन हुनुपर्छ : अध्यक्ष विश्वकर्मा

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्यले दलितका हक अधिकार संविधानमा लेखेपनि कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

सोती घटनामा नवराजसहित ६ जनाको रुकुमपश्चिममा हत्या गरिएको चार वर्ष पुगेको अवसरमा दलितका लागि दलित अभियानले  जेठ १० गते सुर्खेतमा आयोजना गरेको अन्तरजातीय विवाहित जोडीलाई सम्मान तथा जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दलितको शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, विभेद विरुद्धको अधिकार र भूमिको अधिकारलाई संविधान अनुरुप अक्षरश कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

‘दलितका लागि नीति बने, कानुन बने तर, त्यसको कार्यान्वयन हुन सकेको छैन,’अध्यक्ष विश्वकर्माले भन्नुभयो । समग्र दलितको मानव अधिकार हनन् भएको छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।

उहाँले सुर्खेतका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका प्रमुखहरुसँग दलित समुदायका मुद्दाका विषयमा छलफल र समन्वय गरेको भन्दै सेवा सुविधामा आवश्यक समन्वय गरिदिन अनुरोध गरेको बताउनुभयो ।

अध्यक्ष विश्वकर्माले समाजमा जातीय विभेदले अझै पनि जरा गाडेको भन्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई अपमान होइन सम्मान दिनुपर्नेमा जोड दिनुभयो । अन्तरजातीय विवाहित जोडीलाई हरेक स्थानीय तहले सम्मान गर्नसके केही हदसम्म विभेद न्यूनीकरण हुने उहाँको भनाइ छ ।

त्यस्तै देशका विभिन्न जिल्लाबाट आएका दलित अधिकारकमीहरुले विभेदको अन्त्य गर्न सबै प्रदेशहरुमा जागरण अभियानलाई तिब्रता दिनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा अन्तरजातीय विवाह गर्ने कर्णालीका दुई दर्जन भन्दा बढी जोडीलाई सम्मान समेत गरिएको छ । रुकुमपश्चिममा हत्या गरिएका नवराज विकसहितका आमा बुवालाई समेत कार्यक्रममा अभिनन्दन गरिएको थियो । कार्यक्रममा २ हजारभन्दा बढी दलित अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता रहेको दलितका लागि दलित अभियानकी जिल्ला संयोजक माया बस्यालले जानकारी दिनुभयो ।

Photo20240524Surkhet

जगतदल जनाला विक